कञ्चनपुर असार १९ गते
महेन्द्रनगर । कञ्चनपुरका पत्रकार खेम भण्डारी गाली बेइज्जती मुद्दामा अदालतको फैसला कार्यान्वयनका लागि कारागार चलान भएका छन्।
प्रहरीले उनलाई बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट पक्राउ गरेको थियो।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार पक्राउपछिभण्डारीलाई जिल्ला अदालत कञ्चनपुरमा पेस गरिएको थियो। अदालतको आदेशअनुसार तोकिएको सजाय भुक्तान गर्न उनलाई बिहीबार साँझ जिल्ला कारागार पठाइएको हो।
जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते गाली बेइज्जती मुद्दामा भण्डारीलाई दोषी ठहर गर्दै एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो।
उक्त फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालत दिपायलको महेन्द्रनगर–धनगढी इजलासले २०८२ चैत २२ गते जिल्ला अदालतको फैसला आंशिक रूपमा सदर गर्दै थप ७ दिन कैद र २ हजार १०० रुपैयाँ जरिवाना थप गरेको थियो। यससँगै भण्डारीले कुल १ महिना ७ दिन कैद सजाय र १२ हजार १०० रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्ने भएको छ।

भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिम जरिवाना रकम बुझाएर कैद मिलान गरिपाऊँ भन्दै कानुन व्यवसायीमार्फत जिल्ला अदालत कञ्चनपुरमा निवेदन दिएका थिए।
तर न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त निवेदन अस्वीकार गरेपछि उनलाई कारागार पठाइएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए।
यो मुद्दा निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित समाचार प्रकाशनका विषयमा दायर भएको हो। कञ्चनपुरका किरण विष्टले आफूलाई उक्त घटनासँग जोडेर भ्रामक समाचार प्रकाशित गरिएको आरोप लगाउँदै पत्रकार भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।
किरण विष्ट कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख तथा पछि एसएसपीबाट अवकाश प्राप्त दिल्लीराज विष्टका छोरा हुन्।

