बेदकोट–६, सिसैया (कञ्चनपुर) मा मलका लागि किसानको लामो लाइन: कृषिमा आत्मनिर्भरताको नारामाथि गम्भीर प्रश्न

प्रकाशित:

कञ्चनपुर श्रावण १२ गते
बेदकोट, कञ्चनपुर | बेदकोट नगरपालिका–६, सिसैया क्षेत्रमा प्रति परिवार १० किलो युरिया मल वितरण हुने सूचना पाएपछि किसानहरू मंगलबार बिहानैदेखि वितरण केन्द्र अगाडि लामबद्ध भएका छन्। सटर नखुल्दै सयौँ किसान पालो कुरेर बसेको दृश्यले कृषि क्षेत्रमा रहेको मल अभाव र वितरण व्यवस्थापनको वास्तविकता उजागर गरेको छ।
स्थानीय किसानहरू बिहान सबेरैदेखि मल पाउने आशामा लाइनमा उभिए पनि वितरण प्रक्रिया सुरु हुन ढिलाइ हुँदा उनीहरूले घण्टौँसम्म प्रतीक्षा गर्नुपरेको छ। खेतीको मुख्य समयमा अत्यावश्यक रासायनिक मल सहज रूपमा उपलब्ध हुन नसक्दा किसानहरू थप समस्यामा परेका छन्।
सरकारले कृषिलाई आत्मनिर्भर बनाउने नीति र कार्यक्रमलाई प्राथमिकताका साथ अघि सारेको बताइरहे पनि व्यवहारमा भने किसानले सामान्य परिमाणको मलका लागि लामो समय लाइनमा बस्नुपर्ने अवस्था देखिनु चिन्ताजनक विषय बनेको छ। किसानको समय, श्रम र सम्मानको संरक्षण गर्दै आवश्यक कृषि सामग्री समयमै, सहज र व्यवस्थित रूपमा उपलब्ध गराउने जिम्मेवारी सम्बन्धित निकायले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने आवश्यकता यस घटनाले पुनः स्मरण गराएको छ।
स्थानीय कृषक बिरजित चुनाराका  का अनुसार खेतीपातीको अत्यन्त व्यस्त समयमा मलको अनिश्चित आपूर्ति र अव्यवस्थित वितरण प्रणालीले उत्पादनमा प्रत्यक्ष असर पार्ने जोखिम बढाएको छ। उनीहरूले मल वितरणलाई पारदर्शी, पर्याप्त र समयमै सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
कृषि उत्पादन बढाउने लक्ष्य हासिल गर्न किसानलाई भाषण भन्दा व्यवहारिक सहजीकरण आवश्यक छ। समयमै मल, बीउ र आवश्यक कृषि सामग्री उपलब्ध गराउन नसकिएसम्म कृषिमा आत्मनिर्भरताको लक्ष्य कागजमै सीमित रहने चिन्ता स्थानीय किसानहरूले व्यक्त गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार