कञ्चनपुर जिल्लाको पश्चिमी नाका गड्डाचौकीदेखि अत्तरियासम्मको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा छाडा छोडिएका पशु चौपायाको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ। स्थानीय तहहरूले छाडा चौपायाको व्यवस्थापनका लागि करोडौँ रुपैयाँ बजेट विनियोजन गरे पनि प्रभावकारी व्यवस्थापन हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।
स्थानीय कौशिल्ला राणा का अनुसार दिनभर सडकमा विचरण गर्ने छाडा गाई–गोरु तथा अन्य चौपायाका कारण सडक दुर्घटनाको जोखिम उल्लेख्य रूपमा बढेको छ। रातिको समयमा भने यिनै चौपायाले किसानहरूले लगाएको धान तथा अन्य खेतीबालीमा क्षति पुर्याउने गरेका छन्। लगातार हुने क्षतिका कारण किसानहरू वर्षायामको प्रतिकूल मौसममा समेत रातभर खेतमै बसेर बाली जोगाउन बाध्य भएका छन्। स्थानीयका अनुसार गड्डाचौकीदेखि अत्तरियासम्मको सडक खण्डमा यो समस्या वर्षौँदेखि कायम रहे पनि समाधान हुन सकेको छैन। स्थानीयवासीले निर्वाचनका बेला जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले छाडा चौपायाको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि चुनावपछि ती वाचा कार्यान्वयन नभएको आरोप लगाएका छन्। उनीहरूले सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायलाई शीघ्र प्रभावकारी कदम चाल्दै छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न आग्रह गरेका छन्