कञ्चनपुर साउन २३ गते
महेन्द्रनगर । किसान नेता भीमदत्त पन्तको ७३औँ स्मृति दिवसका अवसरमा आयोजित ‘आजको सन्दर्भमा भीमदत्त पन्त’ विषयक निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।
भीमदत्त स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा पूर्वउपसभामुख तथा प्रतिष्ठानका सल्लाहकार भोजराज जोशीको प्रमुख आतिथ्यमा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो।
प्रतियोगितामा मेधावी स्कुल, भाँसीकी आइशा चौधरी प्रथम, इन्टरनेशनल पब्लिक स्कुलका भरत भट्ट द्वितीय, मोडर्न मन्टेश्वरीका प्रिन्स पुजारा तृतीय र महेन्द्रनगर माध्यमिक विद्यालयका भावना जोशीले सान्त्वना स्थान हासिल गरेका थिए। 
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमुख अतिथि भोजराज जोशी र प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद जोशीले विजेता विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतियोगितामा भीमदत्त नगरपालिका क्षेत्रका १२ विद्यालयका २४ विद्यार्थी सहभागी भएका थिए। सहभागी सबै विद्यार्थीलाई प्रतियोगिता निर्णायक मण्डलका सदस्य उद्धव ठगुन्ना र जगदीश ओझा, प्रतिष्ठानका उपाध्यक्ष नन्दा धामी तथा जेसिज मावि राजिपुरकी शिक्षिका सीता पुजाराले प्रमाणपत्र प्रदान गरेका थिए। 
प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कर्णबहादुर चन्दले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि भोजराज जोशीले भीमदत्त पन्तले उठाएका किसान, गरिब तथा समुदायका मुद्दा अहिले पनि सान्दर्भिक रहेको बताए। विद्यार्थीहरूले भीमदत्त पन्तका विचार र योगदानबारे चासो देखाएकोमा उनले खुसी व्यक्त गरे।
भीमदत्त पन्तले करिब ७५ वर्षअघि ‘कित जोत हलो, कि त छोड थलो, यदि हैन भने छैन भलो’ भन्ने नारासहित सुदूरपश्चिममा किसान आन्दोलनको नेतृत्व गरेका थिए। उक्त आन्दोलनमार्फत उनले किसानको हक, जमिनमाथिको अधिकार तथा सामाजिक न्यायका मुद्दा उठाएका थिए।
प्रमुख अतिथि जोशीले पन्तले उठाएको उक्त नारा अहिले पनि आम किसानको मन–मस्तिष्कमा रहेको बताउँदै उनको क्रान्तिको सपना अझै पूर्ण रूपमा पूरा हुन नसकेको उल्लेख गरे।
विसं २०१० साउन १७ गते डोटीको बुडरमा तत्कालीन सरकारले भारतीय सेनाको समेत सहयोग लिएर गोली हानी भीमदत्त पन्तको हत्या गरेको थियो। उनको निधन भएको दिन साउन १७ गतेलाई हरेक वर्ष भीमदत्त पन्त स्मृति दिवसका रूपमा मनाउने गरिएको छ।
स्मृति दिवसको अवसरमा भीमदत्त पन्त स्मृति प्रतिष्ठानले निबन्ध प्रतियोगितासहित पन्तको तस्बिरमा माल्यार्पण, प्रतिष्ठानको कार्यालयमा सरसफाइलगायत कार्यक्रम आयोजना गरेको थियो।
प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद जोशीले भीमदत्त पन्तले उठाएका मुद्दा अहिले पनि यथावत् रहेको बताउँदै स्थानीय तहले सहिदका सपना पूरा गर्न विशेष ध्यान दिनुपर्ने बताए। उनले भीमदत्त स्मृति उद्यानमा तोडफोड गरिएको भीमदत्त पन्तको शालिक मर्मत–सम्भारमा भीमदत्त नगरपालिकाले बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
भीमदत्त पन्तको सम्मानमा विसं २०६७ मा तत्कालीन महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरी भीमदत्त नगरपालिका राखिएको थियो।
भीमदत्त पन्त स्मृति दिवसमा निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
प्रकाशित:

