कैलालीको गेटा अस्पतालमा मुटु रोगको उपचार सेवा सुरु

प्रकाशित:

महेन्द्रनगर – कैलालीको गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ । मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्टले मुटु रोगका बिरामीहरुलाई उपचार सेवा दिन थालेका हुन ।
गेटा अस्पतालले डाक्टर भट्ट यसअघि सहिद गंगालाल हृदय रोग केन्द्रमा कार्यरत रहेका बताएको छ । उनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पतालमा खटाएको हो । भट्टले गत मङ्गलवारदेखि ओपिडी सेवा सुरु गरेका हुन् । अस्पतालमा दैनिक १० जनाको हाराहारी मुटु रोगका बिरामी जाँच गराउन आउने गरेका छन् ।
गेटा अस्पतालमा अहिले अत्याधुनिक इसिजी र इलेक्ट्रोकार्डियोग्राम ९इको० जाँच सेवा उपलब्ध छ। गेटा अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्ने तयारी समेत गरेको छ। गेटा अस्पतालका निर्देशक प्रमोद यादवले गेटा क्याथ ल्याब सञ्चालनको तयारीमा रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक गेटा अस्पतालमा क्याथ ल्याब सञ्चालन हुने दाबी उनको छ ।
हाल सुदूरपश्चिम प्रदेशमा क्याथ ल्याब सेवा उपलब्ध छैन । यो सेवा सञ्चालनमा आएमा हृदयघातलगायत गम्भीर तथा आकस्मिक मुटु रोगीहरूको उपचारमा ठूलो राहत पुग्ने अस्पतालले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार