
कञ्चनपुर–सहकारीहरु ओरालो लागेको बेलामा कञ्चनपुरबासीहरुको आत्मविश्वास जित्न सफल भएको मेगा बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२औ स्थापना दिवस मनाएको छ । सहकारीले जिल्लाका विभिन्न सेवाकेन्द्रहरुमा फरकफरक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

केन्द्रिय कार्यलय तथा प्रमुख सेवा केन्द्र महेन्द्रनगरमा सहकारीका अध्यक्ष लगायत पदाधिकारी, कर्मचारीको उपस्थीतीमा शुभकामना आदानप्रदान कार्यक्रम गरीएको सेवा केन्द्रका प्रमुख जयदेव जोशीले जानकारी दिए । उनका अनुसार सहकारीका अध्यक्ष रघुनाथ ओझा, उपाध्यक्ष रविन्द्र धामी, लेखा समिति संयोजक टेक राज भट्ट, ऋण समिति संयोजक कान्तुराम पनेरु र प्रशासन प्रमुख डम्मर नाथ लगायत सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको उपस्थीती रहेको थियो ।
आगामी दिनमा संस्थाले स्तरीय एवं विश्वसनिय वित्तीय सेवा प्रदान गर्ने संस्थाका अध्यक्ष ओझाले प्रतिबद्धता व्यक्त गरे । सहकारीका अन्य सेवा केन्द्रहरमा पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाईएको जोशीले बताए ।

२०७१ मा २५ जना शेयर सदस्य र ५२ हजार शेयर पूँजीबाट स्थापना भएको सहकारी संस्थामा १८ हजारबढि शेयर सदस्य एवं ७ करोड शेयर पूँजी पुगेको छ । सहकारीले हाल ब्रम्हदेब, दैजी, दोधारा चाँदनी, बेलौरी र कैलालीको धनगढी सेवाकेन्द्रबाट वित्तिय सेवा दिईरहेको छ । सहकारीले २०८१ को असार मसान्त सम्ममा ३६ करोड ५२ लाख निक्षेप संकलन गरेको थियो भने ५७ करोड २५ लाख ऋण लगानी गरेको छ । संस्थाले गत आर्थिक बर्षमा एक करोड ३२ लाख खुद नाफा आर्जन गरेको थियो ।
