कञ्चनपुर।
पुनर्वास नगरपालिका–६ स्थित युगज्योति एकेडेमी माध्यमिक विद्यालयका ५६ जना विपन्न तथा जेहेन्दार बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ। चिसो बढ्दै गएको यस समयमा बालबालिकालाई लक्षित गर्दै आइतबार विद्यालय परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरी न्यानो जर्सी वितरण गरिएको हो।


कार्यक्रमका प्रमुख अतिथि तथा पुनर्वास नगरपालिका वडा नम्बर–६ का वडा अध्यक्ष मित्र सिंह लामाले विदेशमा रहेर पनि जन्मभूमिप्रति जिम्मेवारी बोध गर्दै सामाजिक सेवामा सक्रिय रहनु प्रशंसनीय कार्य भएको बताउँदै समाजसेवी शिव बिष्ट र सुशील श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सकारात्मक सामाजिक कार्यमा निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष विश्वनाथ बिष्टले सहयोगी दुवै जनाप्रति हार्दिक आभार व्यक्त गर्दै विदेशमा रहेर आफ्नो आम्दानीबाट केही रकम बचत गरी जेहेन्दार तथा विपन्न बालबालिकाको भविष्य उज्यालो बनाउन सहयोग गर्नु प्रेरणादायी कार्य भएको बताउनुभयो।
न्यानो लुगा वितरण कार्यक्रममा सभापतित्व संस्थापक अध्यक्ष विश्वनाथ बिष्टले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा अध्यक्ष मित्र सिंह लामा, विशिष्ट अतिथि प्रधानाध्यापक खेमराज श्रेष्ठ, शिवप्रसाद बिष्टकी आमा विष्णु बिष्ट, वडा सदस्य ठाकुर अम्गाई, विद्यालय सञ्चालक दया गुरुङ, अभिभावक तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
यसअघि पनि समाजसेवी शिव बिष्टले पुनर्वास क्षेत्रका विभिन्न सामुदायिक विद्यालयका सयौँ विपन्न बालबालिकालाई न्यानो लुगा तथा स्टेशनरी वितरणमा सहयोग गर्दै आउनुभएको छ।

