कञ्चनपुर कारागारमा तनाव : आन्तरिक प्रशासनविरुद्ध आक्रोश, झडपमा ८ कैदीबन्दी घाइते

प्रकाशित:

कंचनपुर
महेन्द्रनगर — कञ्चनपुर कारागारमा कैदीबन्दीहरू र कारागार प्रशासनबीचको विवाद उग्र बन्दा झडप भएको छ। झडपका क्रममा ८ जना कैदीबन्दी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा डीएसपी सागर बोहराका अनुसार आन्तरिक प्रशासनप्रति असन्तुष्टि जनाउँदै कैदीबन्दीहरू आक्रोशित भएपछि कारागारभित्र तनावको अवस्था सिर्जना भएको हो। कारागारमा रहेका चौकीदार नाइके र कैदीबन्दीहरूबीच विवाद चर्किँदै जाँदा स्थिति झडपमा परिणत भएको उनले बताए।
घाइते कैदीबन्दीहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको अवस्था सामान्य बन्दै गएको र हाल उच्च उपचार भइरहेको प्रहरीले जनाएको छ।
कैदीबन्दीहरूले विभिन्न माग राख्दै कारागारभित्रै आन्दोलन गरेका हुन्। उनीहरूले कारागारका नाइकेमाथि लागू औषध, धूम्रपान तथा मदिराजन्य पदार्थको अवैध कारोबार गरेको, साथै सरुवाको नाममा पैसा असुलेको जस्ता गम्भीर आरोप लगाएका छन्। आन्दोलनका क्रममा कैदीबन्दीहरूले कारागार परिसरभित्रै नाराबाजीसमेत गरेका थिए।
हाल कारागारको अवस्था नियन्त्रणमा रहेको र शान्तिपूर्ण बनेको डीएसपी बोहराले जानकारी दिए। सहायक प्रमुख जिल्ला अधिकारी, कारागार प्रशासन, नाइके, चौकीदार तथा कैदीबन्दीहरूबीच छलफल जारी रहेको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार