महेन्द्रनगर — कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा अवैधरूपमा भारतीय उखु भित्रिन थालेको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नं. १० शिवनगरस्थित महाकाली सुगर मिलमा भारतीय उखु भित्रिन थालेपछि स्थानीय उखु किसानहरू समस्यामा परेका छन्।
सरकारले भारतीय उखु आयातमा कडाइ गरे पनि कञ्चनपुरमा भने खुलेआम अवैध आयात भइरहेको स्थानीयको गुनासो छ। भारतबाट अवैधरूपमा उखु आयात हुन थालेपछि स्थानीय किसानले आफ्नो उत्पादन मिलमा बेच्न ५–५ दिनसम्म पालो कुर्नुपर्ने बाध्यता आएको उनीहरूको भनाइ छ।
स्थानीय किसानका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले यस विषयमा चासो नदिएको मात्र होइन, उनीहरूको मिलेमतोमै भारतीय उखु भित्रिरहेको आशंका गरिएको छ। नाम नखुलाउने सर्तमा एक किसानले भने,
“भारतबाट अवैध उखु भित्रिरहेको छ। अनुदान पाइन्छ भन्दैमा बाहिरबाट उखु ल्याएर स्थानीय किसानलाई हैरान पार्नु हुँदैन। जिल्ला प्रशासन र प्रहरी मौन छन्, जसका कारण हामी सर्वसाधारण किसान मारमा परेका छौं।”
किसानहरूले राज्य कोषको दुरुपयोग रोक्न र स्थानीय कृषकको हित संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतीय उखु आयातमा कडाइ गर्न माग गरेका छन्। उनीहरूका अनुसार विगतका वर्षहरूमा पनि भारतबाट उखु आउँदा सडकमा ठूलो जाम हुने, साथै कम क्षेत्रफलमा अस्वाभाविक रूपमा धेरै उखु उत्पादन भएको गलत तथ्यांक सार्वजनिक हुने समस्या देखिँदै आएको छ।
स्थानीय किसानहरूले अवैध आयात तुरुन्त रोक्न र दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।