बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ४ मा अवस्थित पञ्चदेवल शिवधाम सप्तदेवल धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको स्थलका रूपमा परिचित छ। धार्मिक कथनअनुसार द्वापर युगमा पञ्च पाण्डवहरूले गुप्तबासको समयमा एकै रातमा यहाँ देवलहरू निर्माण गरेको किम्बदन्ती प्रचलित छ।

स्थानीय जनविश्वासअनुसार एकै रातमा निर्माण गरिएका देवलहरूमध्ये एउटा देवल अधुरो अवस्थामा रहेको छ। मन्दिर निर्माणकै क्रममा बिहान उज्यालो भएपछि पाण्डवहरूले काम अधुरै छोडेर गएको भन्ने किंवदन्ती पनि यस स्थानसँग जोडिएको छ।

नामले पञ्चदेवल भनिए पनि यस क्षेत्रमा सातवटा देवलहरू अवस्थित छन्। यही कारणले यस स्थललाई “पञ्चदेवल शिवधाम सप्तदेवल” भनिने गरिएको छ। यहाँ रहेको पुरानो शिलालेख अझैसम्म रहस्यमय बनेको छ। शिलालेखमा कुँदिएका अक्षरहरू आजसम्म कसैले पनि स्पष्ट रूपमा पढ्न वा बुझ्न नसकेको स्थानीयको भनाइ छ।

सुदूरपश्चिम प्रदेशको गौरवका रूपमा रहेको यो ऐतिहासिक तथा पुरातात्विक स्थलको संरक्षण, अध्ययन र प्रचार–प्रसारमा पर्याप्त ध्यान दिन सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटक आकर्षित गर्न सकिने स्थानीयवासीको विश्वास छ। पञ्चदेवल शिवधाम सप्तदेवलको उचित प्रचार र पूर्वाधार विकास भए यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।