महेन्द्रनगर कंचनपुर
धनगढी— डीडीसी (दुग्ध विकास संस्थान) को कार्यालय धनगढी सारिए पनि कारखाना भने स्थानीयको विरोधका कारण सार्न नदिइएको छ। कुनै पनि हालतमा डीडीसी धनगढी लैजान नहुने माग गर्दै संघर्ष समिति र स्थानीयले यही पौष १४ गते गोदावरी नगरपालिकाको वडा नम्बर १ को कार्यालय तथा दुग्ध विकास कारखानामा तालाबन्दी गरेका थिए।
डीडीसी अत्तरियामै रहनुपर्ने विषयमा छलफल गर्न संघर्ष समिति र स्थानीय गोदावरी नगरपालिका पुगेका थिए। तर नगरप्रमुखले आफ्ना धारणा मात्र राखी कार्यकक्षबाट बाहिरिएपछि छलफल निष्कर्षविहीन बनेको संघर्ष समितिले जनाएको छ।
छलफलका लागि नगरपालिका पुगेका संघर्ष समितिका पदाधिकारीहरूसँग कुनै संवाद नगरी नगरप्रमुख बाहिरिएपछि संघर्ष समितिका संयोजक पाण्डेले गोदावरी नगरपालिकाको बेवास्ताका कारण डीडीसी अत्तरियाबाट धनगढी जान बाध्य भएको आरोप लगाए। उनले कुनै पनि हालतमा डीडीसी बाहिर जान नदिने स्पष्ट गर्दै यसअघि तीन महिना डीडीसी कार्यालयमा तालाबन्दी गरिएको स्मरण गराए।
पाण्डेले अघि भने, “यसअघि डीडीसी अत्तरियाका प्रमुख र गोदावरी नगरपालिकाका प्रमुखबीच यही क्षेत्रमा तीनदेखि चार बिघा जमिन उपलब्ध गराउने र भवन निर्माणका लागि ३० देखि ४० लाख रुपैयाँ नगरपालिकाले दिने सहमति भएको थियो। सोही सहमतिपछि ताला खोलिएको थियो। तर अहिले मेयरले त्यो गर्न नसक्ने भनिरहेका छन्।”
उनले इलाका प्रहरी कार्यालय मालाखेतीको समन्वयमा नगरपालिका बोलाइएको बैठकमा नगरप्रमुखले कसैको कुरा नसुनी बाहिरिनु शंकास्पद भएको बताए। “यसबाट दालमा केही कालो छ भन्ने प्रष्ट हुन्छ,” उनले भने।
संघर्ष समितिका अनुसार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जग्गा र भवन उपलब्ध गराउने प्रस्ताव गरिसकेका छन् भने गोदावरी नगरपालिकाले न त जमिन दिन सक्ने न त बजेट उपलब्ध गराउने अवस्था देखाएको छ। “यहाँ रहेको संस्थालाई बाहिर जान प्रेरित गर्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन,” पाण्डेले जोड दिए।
डीडीसी अत्तरियाका प्रमुख भट्टराईले गोदावरीमा जग्गा र भवन नपाएकै कारण माथिल्लो निर्देशनअनुसार धनगढी सार्ने तयारी गरिएको दाबी गरे। यसैबीच संघर्ष समितिका धर्मसिंह कुँवरले कुनै पनि हालतमा डीडीसी अन्यत्र जान नदिने प्रतिबद्धता व्यक्त गरे।
संघर्ष समितिका विक्रम विष्टले मेयरले आफ्ना कुरा मात्र राखेर अरूको कुरा नसुन्नु गैरजिम्मेवारीपन भएको टिप्पणी गरे। यस्तै युवा नेता योगेश भट्टले संघर्ष समितिलाई बेवास्ता गर्दै नगरप्रमुख कार्यकक्षबाट बाहिरिनु दुःखद भएको बताउँदै डीडीसी अत्तरियामै रहनुपर्ने मागप्रति ऐक्यबद्धता जनाए र सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।