कन्चन्पुर
हिन्दु परम्परामा गंगालाई अत्यन्तै पवित्र र मुक्तिदायिनी नदीका रूपमा मानिन्छ। गंगा स्नान र गंगाको पूजा–अर्चनाले जन्मजन्मान्तरका पाप नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ। यही धार्मिक आस्थालाई निरन्तरता दिँदै बैतडी जिल्लामा अवस्थित प्रसिद्ध ईश्वरीगंगा धाममा यही मिति २०८२ साल माघ १ गते विशेष स्नान कार्यक्रम आयोजना गरिने भएको छ।
हिन्दु सम्प्रदायमा नित्य गंगा स्नानलाई विशेष महत्वका साथ हेरिन्छ। विभिन्न समस्या र अशुलभताका कारण दैनिक रूपमा गंगा स्नान गर्न नसके पनि हिन्दु धर्मका विविध संस्कार तथा संस्कृतिमा गंगा स्नान अनिवार्यजस्तै मानिन्छ। जन्मदेखि मृत्युसम्मका संस्कारमा गंगाजलको प्रयोग हुने परम्परा रहिआएको छ।

डोट्याली लोक समुदायमा पनि विशेष पूजा, मनोकामना पूर्ति तथा धार्मिक लाभका लागि गंगाजल ल्याई मन्दिरको गर्भगृहमा रहेको प्राकृतिक शिला तथा मूर्तिमा जल चढाउने चलन रहेको छ। विशेषगरी श्रावण र माघ महिनामा गंगास्नान तथा अभिषेकका लागि गंगाजलको महत्व अझ बढी हुने गर्दछ। राज्याभिषेक, वास्तुपूजा लगायतका विभिन्न धार्मिक संस्कारमा पनि गंगाजलको प्रयोग गरिन्छ।
हिन्दु परम्परामा नातक तथा सुतक शुद्धिका लागि गंगास्नान गर्ने परम्परा रहेको छ। मृत संस्कारमा त गंगाको झनै विशेष महत्व छ। अस्तु विसर्जन, चिना विसर्जन, वार्षिक शुद्धि, तीर्थ श्राद्ध तथा पितृ मुक्तिका लागि गंगास्नान र पिण्डदानलाई अनिवार्य रूपमा पालन गर्ने चलन छ।

गंगाको महत्व धार्मिक मात्र नभई वैज्ञानिक रूपमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। जल बिना जीवन सम्भव नभएकाले गंगाजस्ता पवित्र नदीहरूको संरक्षण आवश्यक रहेको जानकारहरू बताउँछन्। वेद–पुराणदेखि लिएर विभिन्न धर्मग्रन्थ तथा वैज्ञानिक शास्त्रहरूमा गंगाको महत्वको मुक्तकण्ठले प्रशंसा गरिएको पाइन्छ।
हिन्दु समुदायमा हरिद्वार, पुष्कर, गया, गंगोत्री, गोदावरी, बद्रीनाथ, रामेश्वरम् लगायतका तीर्थस्थलहरूमा स्नानका लागि ठूलो संख्यामा श्रद्धालु जाने गर्दछन्। यस्ता तीर्थस्थलहरू भारतसँगै नेपालमा पनि प्रशस्त रहेका छन्। नेपालका बागमती, देवघाट, गोदावरी, मूलपानी, महाकाली लगायतका नदीहरूमा गंगास्नान गर्ने परम्परा रहेको छ।
नेपालका महत्वपूर्ण तीर्थधामहरूमध्ये बैतडीको ईश्वरीगंगा पनि एक प्रमुख तीर्थस्थलका रूपमा चिनिन्छ। प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको ईश्वरीगंगा धाममा माघ १ गते हुने स्नान कार्यक्रममा टाढाटाढाबाट श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।