कंचनपुर
डडेल्धुरा — धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कार्यकर्ताले बुधबार डडेल्धुरा अस्पतालका अध्यक्षको कार्यकक्षमै मोसो दल्दै विरोध प्रदर्शन गरेका छन्। कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराका अध्यक्ष सहवीरद्वारा हस्ताक्षरित आरोप पत्रमार्फत अस्पताल अध्यक्ष ओझामाथि ‘जनकारबाही किन नगर्ने ?’ भन्ने शीर्षकसहित दश बुँदे गम्भीर आरोप सार्वजनिक गरिएको हो।
आरोप पत्रमा अध्यक्ष ओझामाथि कमिसनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारेर नयाँ उपकरण खरिद प्रक्रियामा लगी लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरिएको छ। प्रयोगमा रहेको ठूलो एक्स–रे मेसिन बिगारी नयाँ खरिद प्रक्रिया अघि बढाइएको उदाहरण दिइएको छ।
त्यसैगरी, दक्ष र अनुभवी जनशक्तिबाट सेवा प्रवाह गर्नुपर्नेमा कर्मचारी भर्नामा आर्थिक तथा राजनीतिक चलखेल गरी अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाइएको आरोप लगाइएको छ। अस्पतालजस्तो संवेदनशील संस्थालाई मदिरा सेवन गर्ने थलो बनाइएको, तेस्रो कार्यकाल पूरा गर्न लाग्दासमेत आय–व्यय विवरण सार्वजनिक नगरेको तथा सार्वजनिक सुनुवाइ नगरी कमजोरी ढाकछोप गरिएको उल्लेख छ।
आरोप पत्रमा सेवा, मर्मत तथा निर्माणसम्बन्धी काममा आफ्ना आसेपासेलाई कोटेसन दिलाई कमिसन खाने, अस्पताललाई सेवा सुधार्ने थलोको साटो कमाइ खाने भाँडो बनाइएको, तथा स्थायी दरबन्दी खाली हुँदाहुँदै स्थायी नियुक्ति नगरी करार र ज्यालादारी कर्मचारी आर्थिक–राजनीतिक चलखेलका आधारमा भर्ना गरिएको भनिएको छ।
यस्तै, सुदूरपश्चिमकै रेफर अस्पताल हुँदाहुँदै पनि स्वास्थ्य सेवामा चरम लापरबाही गरिएको, औषधि तथा उपकरण खरिदमा गुणस्तरभन्दा कमिसन दिने आपूर्तिकर्तालाई प्राथमिकता दिइएको र कमिसनकै लागि लाखौँ मूल्यका उपकरण खरिद गरी थन्क्याउने, सूचना लुकाउने तथा जबाफदेहिताबाट पन्छिने काम भएको आरोप लगाइएको छ।
घटनापछि अस्पताल परिसरमा तनावको अवस्था सिर्जना भएको छ भने सम्बन्धित निकायले घटनाबारे आधिकारिक प्रतिक्रिया जनाउन बाँकी रहेको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।