कंचनपुर
बैतडी– नेपाली सेनाले बैतडी जिल्लाको देवलहाटमा रहेको ऐतिहासिक पीपल चौतारोलाई पुनःनिर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ। जीर्ण अवस्थामा पुगेको ऐतिहासिक शिला र चौतारोलाई बैतडीस्थित श्रीबक्स गुल्मले पुनःनिर्माण गरेको हो।
बैतडी सदरमुकाम नजिकै अवस्थित उक्त चौतारो ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको बताउँदै श्रीबक्स गुल्मका गुल्मपति सफल थापाले नेपाली सेनाको शीघ्र प्रभावकारी योजना अन्तर्गत पुनःनिर्माण कार्य सम्पन्न गरिएको जानकारी दिए।

नेपाल एकीकरणको समयमा भारतको अल्मोडाबाट करिब ४५ किलोमिटर उत्तरतर्फ गणनाथ मन्दिर नजिक अंग्रेजसँगको लडाइँमा वीरगति प्राप्त गरेका हलदल शाह र उनका छोरा नन्दुको काजक्रिया यही पीपलको रुखमुनि गरिएको इतिहास शिलालेखमा उल्लेख छ। साके संवत १७३७ मा उनीहरू वीरगति प्राप्त गरेपछि हलदल शाहकी श्रीमती सति गएको तथा महाकाली नदीमा दाहसंस्कार गरिएपछि काजक्रिया यसै स्थानमा गरिएको जनाइएको छ।
ऐतिहासिक शिलासहितको चौतारो संरक्षण गर्नु आवश्यक देखिएकाले नेपाली सेनाले पुनःनिर्माण गरेको गुल्मपति थापाले बताए। यसै पीपल चौतारो नजिक पश्चिमी क्षेत्रमा बहादुर शाहका सेनासँग लामो समय लडाइँ लडेका राजा झुलिचनले शासन गरेको कुल्लेककोट पनि अवस्थित छ। साथै, पौराणिक महत्व बोकेका सप्तदेवल समेत रहेको यो क्षेत्र ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

स्थानीयको आग्रहअनुसार नेपाली सेनाले जीर्ण चौतारोसँगै बामुनीआमा मन्दिर जाने बाटो समेत निर्माण गरेपछि स्थानीयवासी खुशी भएका छन्। छोटो समयमै प्रभावकारी काम गरेको भन्दै स्थानीयहरूले नेपाली सेनाको प्रशंसा गरेका छन्।
सडक सञ्जाल विस्तार हुनुअघि नुनतेललगायत सामग्रीका लागि बझाङ, बाजुरा, अछाम, दैलेख र कालीकोटसम्मका बटुवाहरूका लागि यो स्थान महत्वपूर्ण विश्रामस्थलको रूपमा प्रयोग हुँदै आएको थियो। नजिकै रहेका सप्तदेवल क्षेत्रमा रहेका पुराना तरवार र भाँडाकुडा संरक्षणको अभावमा नष्ट हुँदै गएको स्थानीयको भनाइ छ।
पुनःनिर्माण गरिएको चौतारो एक कार्यक्रमकाबीच आज औपचारिक रूपमा स्थानीय समुदायलाई हस्तान्तरण गरिएको गुल्मपति थापाले जानकारी दिए।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।