कंचनपुर
अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को रूपमा स्थापित बौद्धिक व्यक्तित्व डा. दीपकप्रकाश भट्ट आसन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले) का उम्मेदवार बन्ने निश्चित भएका छन्।
शनिबार बसेको एमाले सचिवालय बैठकले डा. भट्टलाई कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनको उम्मेदवारी औपचारिक रूपमा सुनिश्चित भएको हो।

डा. भट्ट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै निर्वाचित भएका थिए। एमालेभित्र मात्र नभई राजनीतिक वृत्तमा बौद्धिक, शालीन र नीति–केन्द्रित नेताका रूपमा परिचित भट्टले आफ्नो अघिल्लो कार्यकालमा चुनावी प्रतिबद्धताअनुसार महत्वपूर्ण विकासका काम अघि बढाएका थिए।
उनका प्रमुख उपलब्धिहरूमा २०५६ सालदेखि बन्द रहेको मझगाउँ विमानस्थलको पुनः सञ्चालन, महाकाली प्रादेशिक अस्पतालको सेवा सुधार, महाकाली कोरिडोरअन्तर्गत ब्रह्मदेब–कौवानी खण्डको निर्माण सुरुआत तथा दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउनु उल्लेखनीय छन्। सरकारले २०६६ सालमै घोषणा गरेको सुख्खा बन्दरगाह निर्माणलाई प्राथमिकतामा राख्दै उनले निर्वाचन जितेपछि ठोस पहल गरेका थिए। सुरुमा कञ्चभोजमा निर्माण गर्न नदिने भन्दै विरोध भएपछि स्थान परिवर्तन गरी दोधारा–चाँदनी नगरपालिका–१ र २ मा सारेर प्रक्रिया अघि बढाइएको थियो।
महाकाली नदीमा चार लेनको पक्की पुल तथा पहुँच मार्ग निर्माणमा समेत सांसद भट्टले सक्रिय भूमिका निर्वाह गरेका छन्। पुलका पहुँच मार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणमा उनी दिनरात खटिएका थिए। साथै, महाकाली कोरिडोर निर्माण कार्यको आइई सम्पन्न गरी ठेक्का प्रक्रियामार्फत निर्माण चरणमा प्रवेश गराइएको छ।
परराष्ट्र र सुरक्षा मामिलाका जानकार डा. भट्ट विद्यार्थी राजनीतिबाट एमालेको मूलधारको राजनीतिमा आएका हुन्। उनले कैलालीको गेटास्थित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा रूपान्तरण गर्ने अभियानसमेत अघि बढाएका छन्।
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका डा. भट्ट पार्टीका नीतिगत, वैचारिक तथा अन्तर्राष्ट्रिय मामिलामा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। २०४५ सालदेखि भारत प्रवासमा रहँदै अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत संगठन निर्माणमा सक्रिय रहेका उनले महासचिव हुँदै २०५७ देखि २०६२ सम्म केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए।
२०५२ सालमा एमालेको संगठित सदस्य बनेका भट्टले पिथौरागढ नगर कमिटी सचिव, दिल्ली राज्य कमिटी सदस्य, पार्टी राष्ट्रिय परिषद सदस्य, भारत प्रवास समन्वय कमिटी सदस्यलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन विस्तारमा योगदान दिएका छन्। २०४६ सालको जनआन्दोलनका क्रममा पिथौरागढमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनीसँग राज्य सञ्चालन र नीति निर्माणको उल्लेखनीय अनुभव छ।
संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यका रूपमा परराष्ट्र नीति, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सक्रिय भूमिका निर्वाह गरेका डा. भट्ट २०७२ देखि २०७४ सम्म उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलका सदस्यसमेत रहेका थिए। २०६५ देखि २०६९ सम्म माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको सचिवालय सदस्यका रूपमा काम गरेका उनले शान्ति प्रक्रियामा पनि महत्वपूर्ण योगदान दिएका छन्। साथै, २०७३ सालदेखि नेपाल सरकारद्वारा गठन गरिएको राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा पनि उनी कार्यरत रहे।
विकास, स्थायित्व र नीतिमा आधारित राजनीतिलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएका डा. भट्ट आगामी निर्वाचनमा पुनः विजयी हुनेमा विश्वस्त देखिएका छन्।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।