कंचनपुर
बैतडी जिल्लाको पाटन नगरपालिका–३, गुजरमा अवस्थित अद्भूत श्री बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठमा ऐतिहासिक विशाल कुम्भमेला सुरु भएको छ। पाटन नगरपालिकासहित सुदूरपश्चिमका बैतडी, डडेलधुरा, बझाङ, दार्चुलालगायत देश–विदेशका हजारौँ भक्तजनहरूको सहभागितामा कुम्भमेला आयोजना गरिएको हो।

आयोजक समितिका अनुसार वि.सं. २०८२ साल माघ १४ गते शल्य दशमीको शुभ अवसरमा मुख्य दिन पर्ने यस कुम्भमेलामा ठूलो संख्यामा भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको यस मेलाले क्षेत्रीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ।
कुम्भमेलाको अवसरमा विशेष पूजाआजा, धार्मिक अनुष्ठान, प्रवचन, स्नान तथा विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ। मेलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न स्थानीय तह, धार्मिक संघ–संस्था तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको आयोजकले बताएका छन्।

विश्वनाथ ज्योतिर्लिङ्ग धामका मूल पुजारी तथा मठाधीस ज्योतिषाचार्य एवम् धार्मिक प्रवक्ता पण्डित गणेशप्रसाद पन्त पञ्चाङ्गकारका अनुसार यहाँ माघ शुक्ल प्रतीपदादेखि दशमीसम्म (माघ ५–१४) २२ ताल कुम्भमेला लाग्ने परम्परा छ। हालसम्म करिब ३ लाख ७५ हजार दर्शनार्थी धाममा दर्शनका लागि पुगिसकेका छन् भने मेला अवधिभर झण्डै ५ लाख भक्तजन पुग्ने अनुमान गरिएको छ।
मेलामा भारतका उत्तराखण्ड, उत्तरप्रदेश, पञ्जाव, लखनउ, कर्नाटक लगायतका क्षेत्र तथा सुदूरपश्चिमका सबै जिल्लाबाट भक्तजन आउने गरेका छन्। यस शक्तिपीठमा चैत शुक्ल प्रतीपदादेखि चैत पूर्णिमासम्म कोटीहोम, अक्षय तृतीयामा अक्षय कुम्भदान मेला, गंगा दसारामा स्नान मेला, साउन महिनाभर साउने मेला तथा मङ्सिर ५ गतेदेखि पुस ५ गतेसम्म मासपारायण मेला आयोजना हुने गर्दछ। साथै दैनिक रूपमा कोटीदीप प्रज्वलन, सत्यनारायण पूजा, महारुद्राभिषेक, नवचण्डी र अखण्ड रामायण पाठ गर्ने परम्परा रहेको छ।
पण्डित पन्तका अनुसार वि.सं. १६०४ मा तत्कालीन महाराजा मानुक चन्दको पालामा राजगुरु वीरभद्र वसि पन्तसहित विभिन्न समुदायका प्रतिनिधिहरूको छलफलबाट यस धामलाई विभेदमुक्त र समावेशी क्षेत्र घोषणा गरिएको थियो। उक्त निर्णय वि.सं. १६६४ मा राजसभा परिषद्बाट पारित गरिएको थियो, जसले गर्दा यहाँ जात, वर्ग वा पेशाका आधारमा कुनै विभेद नगरिने परम्परा ४१८ वर्षदेखि निरन्तर कायम छ।
स्कन्द महापुराणको मानसखण्डमा उल्लेख भएअनुसार विश्वनाथ ज्योतिर्लिङ्गलाई ८४ रूप, २२ ताल, १२ मसानका गुरु तथा १६ शिवालयका गुरुका रूपमा मानिन्छ। महाभारतकालमा शैल्य राजाले समेत शल्य दशमीका दिन यहाँ पूजा गरेर मन्त्र सिद्ध गरेको धार्मिक विश्वास रहेको छ।
हाल विश्वनाथ बनारसी धाममा पण्डित गणेश पन्त, धिरे लोहार, पद्मे लोहार, हरि पन्त, झुले लोहार, गौरे लोहार, नरिभान लोहार तथा जनक लोहार मूल पुजारीका रूपमा सेवा गर्दै आउनुभएको छ।
आयोजक समितिले यस ऐतिहासिक अवसरमा पाटन नगरपालिका तथा छिमेकी जिल्लासहित देश–विदेशका सम्पूर्ण भक्तजनहरूलाई उपस्थित भई धर्मलाभ लिन हार्दिक अनुरोध गरेको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।