कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ र ३ का उम्मेदवारले उम्मेदवारी दर्तापछि बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।
कञ्चनपुर–३ का उम्मेदवार पूर्ण बहादुर चन्द र कञ्चनपुर–२ का उम्मेदवार तिर्थराज चटौतले बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत आफ्ना प्रतिबद्धता र योजनाहरू सार्वजनिक गरेका हुन्।
कञ्चनपुर–३ का उम्मेदवार चन्दले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै नमूना क्षेत्र बनाउने घोषणा गरे। राप्रपा निष्कलंक पार्टी भएकाले यसपटक जनताले पार्टीप्रति विश्वास गर्ने उनको दाबी थियो। विगतमा निर्वाचित सांसदहरूले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन विकासमा चासो नदिएको उल्लेख गर्दै उनले कञ्चनपुर–३ औद्योगिक, व्यवसायिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावना बोकेको उर्बर भूमि भएको बताए।
उनले भारतको राजधानी दिल्लीसम्मको नजिकको दूरी, सुख्खा बन्दरगाह र नाकासम्बन्धी समस्या समाधानमा समेत अघिल्ला जनप्रतिनिधिले ध्यान नदिएको आरोप लगाए। यसअघि निर्वाचित सांसदहरूको कार्यकालमा विभिन्न काण्ड भएको भन्दै यसपटक जनताले ती दललाई सहयोग नगर्ने विश्वास व्यक्त गरे।
त्यस्तै, कञ्चनपुर–२ का उम्मेदवार तिर्थराज चटौतले आफ्नो निर्वाचन क्षेत्रमा अझै थुप्रै आधारभूत समस्या रहेको बताए। दैजी–जोगबुढा सडक, बेलौरी–कलुवापुर सडक, सुकुमबासी, आरक्षपीडित र भूमिहीन जनताका समस्या ज्यूँका त्यूँ रहेको उनको भनाइ थियो। चुनाव जितेमा राज्यबाट प्राप्त हुने सबै सेवा सुविधा गरिब, निमुखा र पीडित जनताको हितमा खर्च गर्ने प्रतिबद्धता उनले जनाए।
यसअघि चुनाव जितेका दलहरूले क्षेत्रको विकासप्रति चासो नदिएको अनुभव आफूले पाएको चटौतले बताए।
पत्रकार सम्मेलनमा राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं समानुपातिक उम्मेदवार धर्मराज जोशी, जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द, कमल चन्द लगायतका पार्टी नेताहरूको उपस्थिति रहेको थियो।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।