महेन्द्रनगर — उदयदेव मिडिया प्रा.ली.द्वारा सञ्चालित उदयदेव मिडिया प्रा.ली. अन्तर्गतको रेडियो बेलौरी व्यवस्थापन समितिको अध्यक्षमा प्रेस चौतारी नेपालका नेता दिनेशराज ओझा चयन भएका छन्।

कञ्चनपुरको बेलौरीबाट प्रसारण हुँदै आएको रेडियो बेलौरीको विशेष साधारण सभाबाट अध्यक्षमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश सदस्यसमेत रहेका ओझा चयन भएका हुन्। यसअघि उनी विसं २०७५ सालमा पनि रेडियोको सञ्चालन समितिको अध्यक्षमा निर्विरोध चयन भएका थिए।
नवनिर्वाचित अध्यक्ष ओझाले रेडियोलाई समयसापेक्ष परिमार्जन गर्दै श्रोतामाझ प्रभावकारी सूचना सम्प्रेषणका लागि आधुनिक प्रविधिको प्रयोग गरिने बताएका छन्। आगामी दिनमा रेडियो बेलौरीबाट प्रसारण हुने सामग्री डिजिटल माध्यमबाट समेत हेर्न सकिने गरी व्यवस्थापनको कार्य अघि बढाइने उनले जानकारी दिए।
ओझाले शनिबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन्।
यसैगरी, उदयदेव मिडिया प्रा.ली.को उपाध्यक्षमा राजमती बम, सचिवमा भोजराज खरेल चयन भएका छन् भने सदस्यमा नन्दराज जोशी र लक्ष्मी विष्ट चयन भएका छन्।
रेडियो बेलौरी विगत ११ वर्षदेखि नियमित प्रसारण हुँदै आएको छ।
