विशेष अदालतबाट बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथसहित ४ जनाले पाए सफाइ

प्रकाशित:

कंचनपुर  फागुन ५ गते
काठमाडौं । विशेष अदालतले कञ्चनपुरको बेलडाँडी गाउँपालिकासँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा गाउँपालिका उपाध्यक्ष शान्ति नाथसहित चार जनालाई सफाइ दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले उनीहरूविरुद्ध झुट्टा घर नक्सा तयार गरी बैंकबाट ऋण लिएको आरोपमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा अदालतले प्रमाणका आधारमा आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो।

के थियो आरोप?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका–२ स्थित कित्ता नम्बर ३५७ (क्षेत्रफल ४०० वर्गमिटर) मा घर नै नभएको अवस्थामा घर भएको भनी नक्सा तयार पारिएको थियो।
उक्त नक्साका आधारमा शान्ति नाथले लक्ष्मी सनराईज बैंक, कञ्चनपुर शाखाबाट २०७८ चैत १० गते २३ लाख ७५ हजार रुपैयाँ र २०७९ असोज १३ गते १० लाख रुपैयाँ गरी कुल ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको आरोप थियो।
आयोगले अनुसन्धानका क्रममा स्थलगत मुचुल्का तथा नापी कार्यालयको प्रतिवेदनका आधारमा उक्त जग्गामा कुनै पक्की संरचना नभएको दाबी गरेको थियो। त्यसमा बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सब–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनारसमेतको मिलेमतो रहेको उल्लेख गरिएको थियो।


अदालतको फैसला
तर, विशेष अदालतले दायर आरोपपत्रमाथि सुनुवाइ गर्दै अभियोजन पक्षले प्रस्तुत गरेको प्रमाण पर्याप्त नभएको निष्कर्ष निकालेको छ। अदालतको फैसलासँगै शान्ति नाथसहित सबै प्रतिवादीले सफाइ पाएका हुन्।
फैसलापछि काठमाडौंमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै शान्ति नाथले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको दाबी गर्दै अदालतको निर्णयप्रति सम्मान व्यक्त गरिन्।

ताजा समाचार

सम्बन्धित समाचार