महेन्द्रनगर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार महता १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै भारी मतान्तरसहित विजयी भएका हुन्।मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिंह भण्डारीका अनुसार महताले कुल २७ हजार ११८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरि प्रसाद बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन्। महताले बोहराभन्दा झण्डै तेब्बर बढी मत ल्याएर विजय हासिल गरेका हुन्।
अन्य उम्मेदवारमध्ये एमालेका डा. दीपक प्रकाश भट्टले ७ हजार ५७५ मत, नेकपाका मानबहादुर सुनारले ४ हजार २८४ मत, राप्रपाका पूर्णबहादुर चन्दले ३ हजार ९०२ मत प्राप्त गरेका छन्।

यसैगरी नेमकिपाका मिनु गिरीले ४२, जनमोर्चाका लालबहादुर कुँवरले ८७, नेकपा संयुक्तका कर्णबहादुर चन्दले ८६, श्रमसंस्कृति पार्टीका गंगादत्त जोशीले २२४, मितेरी पार्टीका किरण थापाले ६, नेकपा (विप्लव) माओवादीका विष्णु प्रकाश उपाध्यायले ११६, उज्यालो पार्टीका भीमबहादुर कुमालले २६८, राष्ट्रिय मुक्ति पार्टीका लोकराज भट्टले ७१, आम जनता पार्टीकी लक्ष्मी कुमारी विष्टले ३१, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले ९५, बीरसिंह क्षेत्रीले २१ र हर्कबहादुर ऐरले १७७ मत प्राप्त गरेका छन्।
कुल १ लाख ३ हजार ८७ मतदाता रहेको कञ्चनपुर–३ मा ५८ हजार २०९ मत खसेको थियो। जसमध्ये ४ हजार ६६३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भने यही क्षेत्रबाट नेपाली कांग्रेसका रमेश लेखकले २८ हजार १०० मत ल्याएर विजयी भएका थिए। उक्त समयमा कांग्रेसले पाएको जनमत अहिले रास्वपातर्फ सरेको विश्लेषण गरिएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।