कञ्चनपुर, फागुन २८ —
कञ्चनपुरमा सवारी चालकहरूमाथि गरिएको लागूऔषध परीक्षणका क्रममा १८ जनामध्ये ३ जनामा लागूऔषध सेवन गरेको पुष्टि भएको छ।

नियमित ट्राफिक चेकजाँचका क्रममा शंकास्पद अवस्थामा सवारी साधन चलाइरहेका तथा असामान्य गतिविधि देखिएका चालकहरूलाई नियन्त्रणमा लिएर परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजिटिभ आएको ट्राफिक प्रमुख बलेन्द्र नाथले जानकारी दिनुभयो।

परीक्षणमा पोजिटिभ देखिएका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाइएको उहाँले बताउनुभयो।
लागूऔषध सेवन गरी सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले ट्राफिक प्रहरीले पछिल्लो समय निगरानी तथा चेकजाँचलाई कडा बनाएको जनाएको छ। सडक सुरक्षालाई प्राथमिकतामा राख्दै चालकहरूलाई सचेत गराउने र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्ता परीक्षण अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रमुख नाथका अनुसार सुरक्षित यातायात व्यवस्था कायम राख्न, लागूऔषध दुरुपयोग नियन्त्रण गर्न तथा सवारी दुर्घटना घटाउन यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ। प्रहरीले सवारी चालक तथा सर्वसाधारणलाई लागूऔषधजस्ता अवैध पदार्थको प्रयोगबाट टाढा रहन र जिम्मेवार व्यवहार अपनाउन आग्रह गर्दै यस्ता गतिविधिविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।