कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै पहिलो परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

नवगठित समितिका अध्यक्ष महेश पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालको सेवा, व्यवस्थापन तथा सुधारका विषयमा खुला छलफल गरिएको थियो। सहभागीहरूले अस्पतालको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा वरिष्ठ चिकित्सक डा. जगदीश जोशीले अस्पतालले विगतदेखि नै २४सै घण्टा सेवा दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने बताए। उनले सेवा सुधारका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।
अध्यक्ष महेश पन्तले अस्पताललाई जनताको विश्वासको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “सेवाग्राहीले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्नु हाम्रो पहिलो दायित्व हो,” उनले भने। उनले सरसफाइ व्यवस्थापन, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, कर्मचारीको मनोबल अभिवृद्धि तथा आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा सुधारलाई प्राथमिकतामा राखिने बताए।
उनले सेवामा कुनै सम्झौता नहुने उल्लेख गर्दै सबै स्वास्थ्यकर्मीले जिम्मेवारी बोधका साथ काम गर्नुपर्नेमा जोड दिए। “सहकार्य र सकारात्मक सोचका साथ अघि बढेमा यो अस्पताल प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्था बन्न सक्छ,” उनले विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी पत्रकार तथा बौद्धिक व्यक्तित्वहरूले सेवाग्राहीमैत्री व्यवहार, पारदर्शिता, समयमै उपचार तथा सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका थिए।
छलफलका क्रममा अस्पतालमा देखिएका चुनौतीहरू, जनगुनासोका कारण तथा तिनको समाधानका उपायबारे पनि खुलेर विचार आदानप्रदान गरिएको थियो। सहभागीहरूले स्वास्थ्य सेवा सुधारका लागि व्यवस्थापन सँगै सबै सरोकारवालाको साझा प्रयास आवश्यक हुनेमा जोड दिएका थिए।
कार्यक्रमले नयाँ समिति प्रति आशा र विश्वास जगाउँदै आगामी दिनमा अस्पताललाई अझ व्यवस्थित, गुणस्तरीय र सेवामुखी बनाउने सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।