बैशाख १६, कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित सार्क एजुकेसन फाउण्डेशन (सार्क स्कुल)ले चालु शैक्षिक सत्रदेखि आधुनिक शिक्षण विधि अवलम्बन गरेको छ। विद्यालयले २०८३ सालदेखि ल्याब र STEAM (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) मा आधारित पठनपाठन सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ।
सार्क स्कुलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतका अनुसार विश्व शैक्षिक बजारको मागअनुसार सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्मार्ट शिक्षण प्रणाली लागू गर्न लागिएको हो। “विद्यार्थीको मनोविज्ञानलाई आधार मानेर हरेक विषयका लागि अलग–अलग ल्याब निर्माण गरेका छौँ,” उनले भने, “१०–१५ वर्षपछि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार पार्नु हाम्रो उद्देश्य हो।”
विद्यालयले विज्ञान, प्रविधि, अनुसन्धान, इन्जिनियरिङ, कला, गणित तथा वातावरणसम्बन्धी विषयमा प्रयोगात्मक र अनुसन्धानमुखी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र आउँदो सातादेखि कक्षा सञ्चालन हुने विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल सुर्य घिमिरेले सैद्धान्तिकभन्दा व्यवहारिक सिकाइमा जोड दिँदै नयाँ विधिले विद्यार्थीको सिकाइ क्षमता थप मजबुत हुने विश्वास व्यक्त गरे। “सिकाइका चारै आयामलाई प्रभावकारी बनाउँदै विद्यार्थीलाई अब्बल बनाउने हाम्रो लक्ष्य हो,” उनले भने।
पछिल्ला वर्षहरूमा सार्क स्कुलले शिक्षण विधिमा नवप्रवर्तन गर्दै शैक्षिक स्तर उकास्ने विभिन्न कार्यक्रमहरू अघि बढाउँदै आएको छ। नयाँ STEAM र ल्याब आधारित प्रणालीले विद्यालयलाई अझ प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।