कञ्चनपुरमा जेठ १ गतेदेखि १६औँ राष्ट्रपति रनिङ शिल्ड नौ स्थानीय तहका ८ सय ४६ खेलाडीबीच तीन दिनसम्म प्रतिस्पर्धा

प्रकाशित:

महेन्द्रनगर, ३० वैशाख —

कञ्चनपुरमा १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी जेठ १ गतेदेखि सञ्चालन हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित जिल्ला खेलकुद समिति कञ्चनपुरको आयोजनामा प्रतियोगिता बेदकोट नगरपालिका–६ सिसैयास्थित खेल मैदानमा तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्षले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै खेल मैदान, प्राविधिक व्यवस्थापन तथा आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको बताए ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते र उसु गरी छ विधामा छात्र तथा छात्रातर्फ प्रतिस्पर्धा गराइनेछ । आयोजकका अनुसार प्रत्येक स्थानीय तहबाट भलिबलमा ९/९, कबड्डीमा ९/९, एथलेटिक्समा ११/११, तेक्वान्दोमा ६/६, कराँतेमा ६/६ तथा उसुमा ६/६ खेलाडी सहभागी हुनेछन् ।
यस वर्ष जिल्लाका नौवटै स्थानीय तहबाट कुल ८ सय ४६ खेलाडी प्रतियोगितामा सहभागी हुने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले सुदूरपश्चिम प्रदेशस्तरीय हुँदै राष्ट्रिय प्रतियोगितासम्म पुग्ने अवसर प्राप्त गर्नेछन् ।
अध्यक्ष सिंहका अनुसार गत वर्ष बेदकोट नगरपालिकाका प्रमुखले जिल्ला स्तरीय प्रतियोगिता आफ्नो पालिकामा आयोजना गर्ने प्रतिबद्धता जनाएपछि यस वर्ष प्रतियोगिता बेदकोटमा आयोजना गरिएको हो । यसअघि १४औँ संस्करण बेलौरी र १५औँ संस्करण शुक्लाफाँटामा सम्पन्न भएको थियो ।
निर्वाचनलगायत विभिन्न कारणले यस वर्ष प्रतियोगिता केही ढिलो गरी आयोजना गर्नुपरेको आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन जिल्लाका सबै पालिकाले खेलाडी छनोट, प्रशिक्षण र अभ्यासलाई तीव्रता दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार