कञ्चनपुर जेठ ४ गते
काठमाडौं,— प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै कञ्चनपुर–३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र सिंह महता ले सुदूरपश्चिम प्रदेशको विकास, सम्भावना र जनअपेक्षाका विषयलाई जोडदार रूपमा उठान गरेका छन्।

सांसद महताले आफू केवल औपचारिक भाषण गर्न नभई “विकासको प्रतीक्षामा रहेका लाखौँ नागरिकको आशा, अपेक्षा र पीडा बोकेर” सदनमा उभिएको बताएका थिए। उनले सुदूरपश्चिमलाई देशको कुनामा परेको भूगोल मात्र नभई अपार सम्भावना बोकेको क्षेत्रका रूपमा चित्रित गर्दै हिमाल, नदी, जडीबुटी, कृषि तथा पर्यटनको प्रचुर सम्भावनालाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्ने धारणा राखे।
ऊर्जा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उनले लामो समयदेखि अलपत्रजस्तै बनेका पश्चिम सेती जलविद्युत आयोजना र पञ्चेश्वर बहुउद्देश्यीय आयोजना को कार्यान्वयनमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए। “अब सुदूरपश्चिमका जनताले उद्घाटनका भाषण होइन, सम्पन्न आयोजना हेर्न चाहेका छन्,” उनले स्पष्ट शब्दमा भने।
उनले महाकाली करिडोर, सेती लोकमार्ग, हुलाकी राजमार्ग तथा कञ्चनपुरस्थित निर्माणाधीन मझगाउँ विमानस्थल जस्ता परियोजनाहरू सुस्त गतिमा अघि बढिरहेको उल्लेख गर्दै दुर्गम क्षेत्रका नागरिक अझै आधारभूत सेवा प्राप्त गर्न कठिनाइ भोग्न बाध्य रहेको बताए।
पर्यटन क्षेत्रको अथाह सम्भावनाबारे चर्चा गर्दै उनले खप्तड राष्ट्रिय निकुञ्ज, अपी हिमाल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र रामारोशन जस्ता क्षेत्र विश्वस्तरीय पर्यटकीय गन्तव्य बन्न सक्ने उल्लेख गरे।
कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न सके युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने धारणा राख्दै उनले “युवाको सपना विदेशी भूमिमा पसिना बगाउने होइन, आफ्नै गाउँ–ठाउँमा अवसर सिर्जना गर्ने हुनुपर्छ” भन्ने विचार व्यक्त गरे।
प्रतिपक्षप्रति कटाक्ष गर्दै सांसद महताले देशमा आशा र सम्भावना देखिँदा पनि निराशा मात्रै प्रस्तुत गर्ने प्रवृत्तिले विकास सम्भव नहुने टिप्पणी गरे। “जनताले अब केवल आलोचना होइन, समाधान खोजिरहेका छन्,” उनले भने।
उनले सरकारसँग पश्चिम सेती र पञ्चेश्वर परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राखी तत्काल कार्यान्वयन अघि बढाउन, बाढी नियन्त्रणका दीर्घकालीन योजना लागू गर्न तथा कृषि र पर्यटन केन्द्रित विशेष रोजगारी प्याकेज ल्याउन माग गरे।
सांसद महताले अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको प्रशंसा गर्दै उत्पादन, रोजगारी, पूर्वाधार, कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्य र सुशासनलाई केन्द्रमा राखिएको बताएका थिए। उनले उक्त विधेयकले आर्थिक सुधार, उत्पादन वृद्धि, सामाजिक न्याय र समृद्धिको दिशामा देशलाई अघि बढाउने विश्वास व्यक्त गर्दै विधेयकको समर्थन गरेका छन्।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।