कञ्चनपुर जेठ १० गते
हेमा भट्ट
नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा निरन्तर समर्पण, अनुशासन र कलाप्रतिको अटुट विश्वासका साथ सक्रिय कलाकार हुन् — रामबाबु रेग्मी। गोरखा जिल्ला, शहीद लखन गाउँपालिका–९ मा जन्मिनुभएका उहाँले सामान्य पारिवारिक पृष्ठभूमिबाट सुरु भएको जीवनलाई संघर्ष, निरन्तर अभ्यास र दृढ इच्छाशक्तिमार्फत नेपाली कला क्षेत्रमा स्थापित पहिचानमा रूपान्तरण गर्नुभएको छ।
प्रेमकुमारी (सीता) रेग्मी र अलक प्रसाद रेग्मीका जेठा सन्तानका रूपमा जन्मिनुभएका उहाँको प्रारम्भिक शिक्षा गोरखाको श्री भिमसेन आधारभुत विध्यालयबाट शुरू भयो । र श्री जनशक्ति माध्यमिक विद्यालयबाट माध्यामिक तह पूरा गर्नु भएको थियो। बाल्यकालदेखि नै अभिनय, नाटक तथा सांस्कृतिक गतिविधिप्रति उहाँको गहिरो रुचि देखिन्थ्यो। कक्षा ९ मै अध्ययनरत रहँदा उहाँले “म कलाकार बन्छु” भन्ने दृढ अठोट लिनुभएको थियो, जसलाई उहाँले जीवनभर निरन्तरता दिनुभयो। आर्थिक चुनौती, अवसरको अभाव र ग्रामीण परिवेशको सीमितताबीच पनि उहाँले आफ्नो लक्ष्यलाई कहिल्यै कमजोर हुन दिनुभएन।
उहाँको व्यावसायिक कला यात्रा थिएटरबाट सुरु भएको हो। एम आर्ट्स थिएटर, गुरुकुल र एक्टरस् स्टुडियो जस्ता प्रतिष्ठित संस्थासँग प्रशिक्षित हुँदै काम गर्दै उहाँले अभिनयको आधारभूत शिक्षा , ्अनुशासन, चरित्र निर्माण, भाव–प्रस्तुति र स्टेज व्यवस्थापनको गहिरो अभ्यास गर्नुभयो। थिएटरकै अभ्यासले उहाँलाई कलाकारिताको वास्तविक आधार दिएको मानिन्छ, जसले पछि रेडियो, टेलिभिजन र चलचित्रसम्म पुग्ने बाटो सहज बनायो।
थिएटरको अनुभवसँगै उहाँले क्रमशः नाटक, सडक नाटक, रेडियो नाटक, टेलिफिल्म हुँदै चलचित्रसम्म आफ्नो यात्रा विस्तार गर्नुभयो। यस क्रममा उहाँले नेपालका ६८ जिल्लामा पुगेर सडक नाटक मञ्चन गर्नुभएको छ भने भारतका दिल्ली, कोलकाता, बेंगलोर, मैसुर र उडिसा जस्ता सहरहरूमा समेत नाटक प्रस्तुत गर्नु भएको छ । सडक नाटक गर्दै सामाजिक चेतना फैलाउने कार्यमा महत्वपूर्ण योगदान दिनुभएको छ। उहाँले १०० भन्दा बढी सडक नाटकमा अभिनय गर्नुभएको छ, जसले उहाँलाई एक सचेत र समाजप्रति उत्तरदायी कलाकारका रूपमा परिचित गराएको छ।
रेडियो नाटक क्षेत्रमा पनि उहाँको उल्लेखनीय योगदान रहेको छ। “मै सुनाखरी”, “नयाँ बाटो नयाँ पाइला”, “भन्छिन् आमा” लगायतका डेढ दर्जन भन्दा बढी रेडियो धारावाहिक नाटकमा उहाँको अभिनय श्रोतामाझ लोकप्रिय रह्यो। आवाजमार्फत चरित्र निर्माण गर्ने उहाँको क्षमता रेडियो नाटकको माध्यममा विशेष रूपमा देखिएको पाइन्छ।
टेलिफिल्म क्षेत्रमा उहाँले “तितो सत्य”, “किलो ट्याङ्गो माइक”, “मेरी बास्सै ”, “हर्के हल्दार”,, “हाम्रो जिन्दगी”, “जुठे”, “बुहारी”, “केशरी”, “सम्झौता”, “ज्वाइँ साब” लगायत डेढ दर्जन टेलिफिल्महरूमा दमदार अभिनय प्रस्तुत गर्नुभएको छ। हास्यदेखि गम्भीर चरित्रसम्म विविध भूमिकामा देखिनुभएका उहाँले नेपाली टेलिभिजन मनोरञ्जनलाई जीवन्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
चलचित्र क्षेत्रमा पनि उहाँ उत्तिकै सक्रिय रहनुभएको छ। “छड्के”, “छक्का पन्जा”, “रेशम फिलिली”, “फाटेको जुत्ता”, “परदेशीको उमङ्ग”, “भुइँ मान्छे”, घामड शेरे, फिटकिरी, खग्रास, बेहुली फ्रम मेघौली, पुर्ण बहादुरको सारङ्गी, परान,श्री बुकुरो, जिरो डिग्री लगायतका चर्चित चलचित्रहरूमा उहाँको अभिनयले दर्शकको मन जितेको छ। हालसम्म उहाँले ७८ भन्दा बढी चलचित्र भूमिकामा काम गरिसक्नुभएको छ, जसले उहाँको निरन्तरता र अनुभवलाई स्पष्ट देखाउँछ।
उहाँको कलायात्रामा पाठ्यक्रम विकास केन्द्रबाट प्रथम पुरस्कार, “हल्ला” बाट उत्कृष्ट निर्देशक अवार्ड तथा विभिन्न नाटक र सांस्कृतिक संस्थाबाट सम्मान प्राप्त भएको छ। यी सम्मानहरूले उहाँको योगदानलाई औपचारिक रूपमा समेत पुष्टि गरेका छन्।
उहाँको भनाइमा, “कलाकारितामा आएपछि जीवनलाई गहिरो रूपमा बुझ्न पाइन्छ। चरित्र, आचरण र सम्मान नै कलाकारको वास्तविक पहिचान हो।” यही विचार र दृष्टिकोणले उहाँलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्दै आएको छ।
गाउँको सामान्य परिवेशबाट सुरु भएको रामबाबु रेग्मी को यात्रा आज थिएटर, रेडियो, टेलिभिजन र चलचित्र हुँदै नेपाली कला क्षेत्रमा एक प्रेरणादायी उदाहरण बनेको छ। संघर्ष, समर्पण र निरन्तर मेहनतको बलमा उहाँले आफ्नो पहिचान स्थापित गर्दै नेपाली मनोरञ्जन क्षेत्रमा उल्लेखनीय योगदान दिन सफल हुनुभएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।