जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा मुक्ति समाजद्धारा मदनचोकमा दिप प्रज्वलन

प्रकाशित:

महेन्द्रनगर–जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजद्धारा मदनचोकमा दिप प्रज्वलन गरीएको छ । बुधबार बेलुका ७ बजे सत्तारुढ नेकपा एमालेको जनबर्गिय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरले महेन्द्रनगरको मदन चोकमा १९औ जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा दिप प्रज्वलन गरेको हो ।

 

उक्त कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्माले जातीय विभेद तथा छुवाछुक्त मुक्त राष्ट्र घोषणा रुपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । १९ औं जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा बुधबार साँझ मदनचोकमा गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलित समुदायले अझै पनि जातीय विभेद र छुवाछुतको मार खेप्नु पर्ने अवस्था भएको बताएका हुन् । ‘२०६३ मा अन्तरिम व्यवस्थापिकाबाट नेपाललाई जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो, त्यो दिन हामी सबैका लागि गर्वको दिन थियो, समाजमा सबै नागरिक बराबर भएका थिए’ कार्यक्रममा उनले भने,‘त्यो घोषणा भएको आज १९ वर्ष पुगेको छ, तर पूर्ण रुपमा कार्यान्वयन आउन सकेको छैन ।’

उप सचिव विश्वकर्माले घोषणा कार्यान्वयनका लागि सरकारलाई दबाव दिनु पर्ने आवश्यकता औंल्याए । अन्तरिम व्यवस्थापिकाबाट जातीय विभेद तथा छुवाछुत मुक्त घोषणा भएको दिनलाई जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसका रुपमा मनाउने गरिएको छ ।
कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य कृष्णराम सुनारले घोषणा कार्यान्वयनका लागि सरकारलाई दवाब दिनु पर्ने आवश्यकता भएको बताए । मुक्ति समाज कञ्चनपुरका कार्य वाहक अध्यक्ष राजेन्द्र आग्रीले जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा पूर्ण रुपमा कार्यान्वयन हुनु पर्ने बताए ।

अध्यक्ष आग्री दलित समुदायको सशक्तिकरण, क्षमता अभिवृद्धि, आर्थिक अवस्था सुधार र दलित समुदायमाथि विभेद तथा छुवाछुत गर्नेलाई कानुनी कारवाही गरिनु पर्नेमा जोड दिए ।
२०६३ मा घोषणापछि २०६८ मा जातीय विभेद तथा छुवाछुत सम्बन्धि कानुन बनेको थियो । दिप प्रज्वलन कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मी विक, उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य रमेश तिरुवा लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार