
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्याल(साधारण) उत्कृष्ठ विद्यालय पुरस्कार २०८२ बाट सम्मानित भएको छ । पोखरामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट महेन्द्रनगर माविले उत्कृष्ठ विद्यालय पुरस्कार पाएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टलाई उक्त पुरस्कार प्रदान गरे । पुरस्कार पाएपछि प्रतिक्रिया दिदै अध्यक्ष विष्टले विद्यालयको शैक्षिक र भौीतक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको बताए ।

‘यो सम्मान ग्रहण गर्न पाउँदा गौरवको अनुभूति भयो, हामी अत्यन्तै खुसी छौ, यसले आगामी दिनमा विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको छ’ पुरस्कार ग्रहणपछि अध्यक्ष विष्टले भने । उनले विद्यालयलाई सुदूरपश्चिममै उत्कृष्ठ बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । ‘विद्यालयको चौतर्फी विकासमा अहोरात्र खटेर उत्कृष्ट कार्य गरी विद्यालयलाई यस स्थानमा पुर्याउनुहुने विद्यालय व्यवस्थापन समितिका साथीहरू, पिटिए, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, सबै तह र समूहका संयोजक, सह संयोजक, शिक्षक, कर्मचारी तथा सम्पूर्ण समर्पित अभिभावक ज्यूहरू, लगनशील विद्यार्थीहरू लगायत सरोकारवाला सबैलाई हार्दिक बधाईसहित धन्यवाद व्यक्त गर्दछु’ उनले भनेका छन्, ‘साथै विद्यालयको मूल्याङ्कन गरी उत्कृष्ट पुरस्कार आयोजना गरेर थप हौसला बढाउने पान परिवारप्रति हार्दिक आभार ।’

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संस्था पाननले महेन्द्रनगर माविलाई सुदूरपश्चिम क्षेत्रमा उत्कृष्ठ विद्यालय छनौट गरी पोखरामा पुरस्कार प्रदान गरेको हो । महेन्द्रनगर मावि सुदूरपश्चिमा सबैभन्दा बढी विद्यार्थी अध्ययन गराउने विद्यालयमा पर्छ । विद्यालयमा हाल झण्डै साढे तीन हजार हजार विद्यार्थी अध्ययनरत छन् ।
मन्त्री पन्तको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम राखिएको छ । कार्यक्रमको अध्यक्षता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अमर बहादुर थापाले गरे ।
