झाँक्रीलाई निष्काशन गर्नुपर्ने माग पार्टी बैठकमै उठ्यो

प्रकाशित:

काठमाण्डौ–नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई कारबाही गर्नुपर्ने माग उठेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा बोल्ने अधिकांश सदस्यले झांक्रीलाई कारबाही गर्नुपर्ने बताएका छन् । युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा गत शनिबार पूर्वमन्त्री झाँक्रीले पार्टी पुर्नगठनको एजेण्डा उठाएकी थिइन् ।

 

अध्यक्षमाथि नै संकट आएकाले पुनर्गठन गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको तर्क थियो । त्यस क्रममा ‘सिनो बोकेर हिड्न’ नसकिने पनि झाँक्रीले बताएकी थिइन् । जसबारे पार्टीले स्पष्टीकरण सोधेको थियो ।

उक्त स्पष्टीकरणबारे छलफल गर्ने क्रममा सचिवालय बैठकमा नेताहरू मेटमणि चौधरी, शेरबहादुर कुँवर र राजेन्द्र राईले कारबाही गरेर पार्टीबाटै निष्काशन गर्नुपर्ने बताएका छन् । त्यस्तै, बेदुराम भुसालले कारबाही गर्नुपर्ने बताए पनि निष्काशन नै गर्न नहुने बताए ।

महासचिव घनश्याम भूसालले भने अहिले पार्टीभित्रै मौका दिनुपर्ने बताए । ‘कुनै न कुनै मौका दिनुपर्छ । कारबाही गरेर निष्काशन नै गर्नुहुन्न,’ भूसालले बैठकमा भने ।

त्यस्तै, जयन्ती राईले पनि झांक्रीलाई कारबाही गरेपनि पार्टीबाटै निष्काशन गर्न नहुने बैठकमा बताइन् । आजको बैठकमा अधिकांश नेताहरूले रामकुमारीमाथि नै छलफल केन्द्रित गरेका थिए । झांक्रीले आफूलाई पत्र नपठाएर नेताहरुले सञ्चार माध्यमबाट स्पष्टीकरण सोधेको भन्दै सचिवालय बैठकमै पुगेर जवाफ पत्र बुझाएकी थिइन् ।

ताजा समाचार

सम्बन्धित समाचार