महेन्द्रनगर –नेकपा एमालेले कञ्चनपुरका नौ वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकता विरुद्ध एकजुट बनौँ” भन्ने नाराका साथ मंगलबार नौ वटै पालिकाका विभिन्न स्थानमा बृहत जनप्रदर्शन गरेको हो । जिल्लाको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा गरीएको जनप्रदर्शन कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, पोलिटव्यूरो सदस्य एवं कञ्चनपुर जिल्ला ईञ्चार्ज निरुदेवि पाल, जिल्लास्तरीय नेताहरुले संबोधन गरेका थिए । उनीहरुले देशमा जेनजीको नाममा अराजक, आतंककारी क्रियाकलाप गरीएको र असंबैधानिक सरकार गठन भएको उल्लेख गर्दै सडक आन्दोलनबाट संसद पुनस्थापना गर्ने बताएका छन् । अहिलेको सरकारलाई असंवैधानिक सरकारको संज्ञा दिदै निर्वाचनको नाममा कर्मचारीलगायत पार्टीका नेताकार्यकर्ताहरुलाई धम्क्याउने कार्य गरीरहेको पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बताए । उनले एमालेले जसरी भएपनि संसद पुनस्थापना गर्ने र यसमा नेपाली कांग्रेसले साथ दिने बताए ।
त्यसैगरी एमाले जिल्ला ईञ्चार्ज निरुदेवि पालले एमालेविनाको देशको कल्पनासमेत गर्न नसकिने कुरा उल्लेख गर्दै देशलाई एमालेमय बनाउनुपर्नेमा जोड दिए । एमाले नेताका घर प्रहरीचौकी जलाएर उदाएको सरकार आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने उनले बताईन् । उनले देशमा आम निर्वाचन हुन नसक्ने कुरा ठोकुरा गरीन् । उनले टोलटोलमा एमालेले सुरक्षा दस्ता गठन गर्ने समेत बताईन् । त्यसैगरी एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले एमाले पार्टि नै देशको समृद्धि गर्ने पार्टि भएकाले सबैको ध्यान एमालेतिर गएको र टुक्रे पसल थापेका देशीबिदेशी प्रतिक्रियाबादी शक्तिहरु रावणको जस्तै टाउको जोडीरहेको बताए । दोधारा चादनीमा नेकपा एमाले नगर कमिटिले कार्यक्रमको आयोजना गरेको थियो । भने भीमदत्त नगरपालिकाको मदनचोकमा नेकपा एमाले भीमदत्त नगर कमिटिले कार्यक्रम आयोजना गरेको थियो ।
त्यसैगरी एमाले बेदकोट नगर कमिटीले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै एमाले केन्द्रीय समिति सदस्य कृपाराम रानाले संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए । संविधान, लोकतन्त्र, देशको राष्ट्रियता र अस्मितालाई रक्षा गर्दे स्वाधीन राष्ट्र निर्माण गर्न एमालेले देश व्यापीरुपमा जनप्रदर्शनका कार्यक्रम गरिरहेको उनले बताए ।
गत भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको घुसपैठका कारण देशमा अराजकता मच्चाउने कार्य भएको, नेपालको ऐतिहासिक धरोहर सिंहदरबार जलाइएको भन्दै उनले आपत्ति जनाए । जेनजीको नाममा भएको घुसपैठको कारणले राष्ट्रले ठुलो क्षति बेहोर्नुपरेको उनले बताए । उनले भने, अब एमालेले संविधानको रक्षा गर्न चाहान्छ, सर्वदलीय राष्ट्रिय सरकार गठन गर्ने चाहन्छौ ।”


