⇒गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने स्पष्ट दाबी गरेका छन्। मङ्गलवार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले फागुन २१ गते नै निर्वाचन सम्पन्न गरिने बताउँदै सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिए।
गृहमन्त्री अर्यालका अनुसार सरकारको मुख्य जिम्मेवारी नागरिकको सुरक्षा सुनिश्चित गर्दै सुशासन कायम गर्नु र समयमा चुनाव सम्पन्न गर्नु हो। “यो सरकारको मुख्य दायित्व शान्ति–सुरक्षा कायम गर्दै निष्पक्ष, भयरहित र शान्तिपूर्ण चुनाव सम्पन्न गर्नु हो। सरकारले पाएको म्यान्डेट पनि चुनाव गराउनु नै हो,” उनले भने।
चुनावको वातावरण निर्माणका लागि राज्यका सबै संयन्त्र परिचालन भइसकेको गृहमन्त्री अर्यालको भनाइ छ। उनले राजनीतिक दलहरूलाई निर्वाध रूपमा चुनावी गतिविधि सञ्चालन गर्न वातावरण बनाउन सरकारले सक्रिय भूमिका खेलेको जिकिर गरे। “यो सरकार सबैको साझा सरकार हो। हामी कसैप्रति विभेद गर्दैनौँ, कुनै पनि दलको गतिविधिमा अवरोध गरिँदैन,” उनले स्पष्ट पारे।
सुरक्षा मूल्यांकनका आधारमा आवश्यक कदम चाल्न सरकार सधैं तयार रहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले प्रदेश सरकारसँग सहकार्य गर्दै निर्वाचनको समग्र वातावरण तयार पारिएको बताए। उनका अनुसार राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र निर्वाचन सफल बनाउन पूर्ण रूपमा क्रियाशील छन्।
शिर्षक: फागुन २१ मै निष्पक्ष निर्वाचन हुने : गृहमन्त्री अर्याल
प्रकाशित:
