कञ्चनपुर- देशभरि विभिन्न थरीका महोत्सव हुँदै आएका छन्, तर सुदूरपश्चिम महोत्सवले वर्षौँदेखि पाएको जनअपेक्षा र भीडले यसलाई अझै पनि विशेष बनाइदिन्छ। कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव अब प्रदेशको साझा पर्व जस्तै भइसकेको छ। यो वर्ष महोत्सव आफ्नो १९औं संस्करणमा प्रवेश गर्दैछ, आगामी पुस २२ गतेबाट सुरु हुने तयारीले अहिले कैलाली नै उत्सवमय बनेको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार यसपटकको महोत्सव अघिल्ला वर्षभन्दा थप भव्य र आकर्षक हुनेछ। उनी भन्छन्, “हामी अन्तिम तयारीमा छौँ। स्थानीय उत्पादन, संस्कृतिको प्रस्तुति र उद्यमशीलतालाई अझै प्राथमिकतामा राखेका छौँ। सुदूरपश्चिमको पहिचानलाई राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्य राखेका छौँ।”
महोत्सवमा करिब ५५० स्टल रहनेछन्। तीमध्ये ठूलो भाग स्थानीय उद्यम, घरेलु उत्पादन र कृषि नवप्रवर्तनका लागि छुट्याइएको छ। महासचिव तथा महोत्सव प्रवक्ता दिनेश लम्सालका अनुसार घरेलु तथा कृषि उत्पादनका ५० स्टल निःशुल्क दिइएका छन्। स्थानीय परिकार, जातीय स्वाद र उद्यमशीलता देखिने स्टलहरू यस वर्षको प्रमुख आकर्षण मानिएका छन्। महिलादेखि युवासम्मका उद्यमका लागि छुट्टै स्थान, बालबालिकाका लागि खेल क्षेत्र, कृषि प्रविधिको प्रदर्शन र दर्जनौँ मनोरञ्जनात्मक कार्यक्रम महोत्सवमा राखिएका छन्।
सांस्कृतिक प्रस्तुतिमा सुदूरपश्चिमका प्रायः सबै स्थापित कलाकार सहभागी हुने तयारीमा छन्। कलाकार तथा युवा परिचालन समितिका संयोजक प्रकाश चन्द भन्छन्, “अघिल्लो वर्ष एकैदिन एक लाखभन्दा बढी दर्शक भित्रिएका थिए। यस पटक कार्यक्रम र सजावट दुवै हिसाबले अझै समृद्ध बनाएका छौँ। ठूलो भीडको अपेक्षा गरेका छौँ।”
महोत्सव हेर्न आउने वृद्ध तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि प्रवेश निःशुल्क गरिएको छ। उद्योग वाणिज्य सङ्घसँग आवद्ध व्यापारीले पनि निःशुल्क अवलोकन गर्न पाउनेछन्। विद्यार्थी र खेलाडीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ साथै टिकट आयको केही हिस्सा सामाजिक प्रयोजनमा खर्च गरिने समेत बताइएको छ।
सात लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा सहित आयोजकले महोत्सवबाट यस वर्ष १५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरेका छन्।
सुदूरपश्चिम महोत्सव केवल व्यापारिक र सांस्कृतिक गतिविधिको मंच मात्रै होइन। यो प्रदेशका दीर्घकालीन विकासका माग उठाउने शालीन आन्दोलनको रूपमा समेत चिनिन्छ। सन् २०६३ सालमा २१ बुँदे मागसहित सुरु गरिएको प्रतीकात्मक आन्दोलनले धेरै राष्ट्रिय नेताको ध्यान प्रदेशतर्फ तानेको थियो।
अहिलेसम्म पूर्व प्रधानमन्त्रीहरू प्रचण्ड, देउवा, बाबुराम भट्टराई, पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सभामुख सुवास नेम्बाङ, नेता भीम रावललगायतलाई उद्योग वाणिज्य सङ्घले विकासका माग पुस्तिका थमाइ सकेको छ। पहिलो संस्करणमा तत्कालीन प्रधानमन्त्री देउवालाई २१ किलोग्रामको माला बोकाएर २१ बुँदे माग बुझाइएको थियो।
त्यसपछि सेती प्रादेशिक अस्पतालमा आइसियू स्थापना, क्षेत्रीय रंगशाला, विश्वविद्यालय, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्र जस्ता पाँच बुँदामा तत्काल सुनुवाइ भएको थियो। अन्य मागहरू पनि आंशिक रूपमा अघि बढिरहेका छन्। यस वर्ष पनि उद्योग वाणिज्य सङ्घले बाँकी माग पूरा गर्न सरकारलाई आग्रह गर्ने छ।
अहिले गौरिफन्टा नाकाको स्तरोन्नति, पर्यटकीय क्षेत्र खप्तड–शुक्लाफाँटा–घोडाघोडीको विकास, जडीबुटी प्रशोधन केन्द्र, चिनी मिल, शीतगृह, औद्योगिक क्षेत्र, गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग बनाउने र प्रदेशभर पक्की सडक विस्तार जस्ता मागलाई प्राथमिकतामा राखिएको छ।
अध्यक्ष ओझा भन्छन्, “अब सुदूरपश्चिमको विकासका लागि केन्द्र मात्रै होइन। प्रदेश सरकार र स्थानीय तह पनि बराबरी जिम्मेवार छन्। ८८ वटा स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर विकास अघि बढाउनुपर्ने बेला आएको छ।”
उनको भनाइमा सुदूरपश्चिममा सम्भावना धेरै छ तर ती सम्भावनालाई जोड्ने सरकारी निर्णय र लगानी सुस्त छ। “हामी सुन्दर पश्चिम देख्न चाहन्छौँ। प्रदेशलाई समृद्ध बनाउन सरकारले एकै स्वरमा काम गर्नुपर्छ,” उनले भने।
सुदूरपश्चिम महोत्सव व्यापार, पर्यटन, संस्कृति र विकासका मागलाई एउटै मञ्चमा जोड्ने देशकै दुर्लभ उदाहरण बनेको छ। यही कारण यस महोत्सवलाई अझै पनि प्रदेशको सबैभन्दा ठूलो र प्रभावशाली पर्व मानिन्छ।

