अपराजित सुदूरपश्चिम रोयल्सको छैटौँ जीत, चितवन ४९ रनले पराजित

प्रकाशित:

 

कञ्चनपुर, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार उत्कृष्ट प्रदर्शन जारी राखेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले हराउँदै रोयल्सले अपराजित यात्रा कायम राख्यो। सोसँगै छ खेलमा सबै जितेर सुदूरपश्चिमले १२ अंक हासिल गरेको छ ।

निर्धारित २० ओभरमा १७० रनको लक्ष्य पछ्याउन आएको चितवन १७.१ ओभरमै १२० रन बनाएर अलआउट भयो। प्लेअफमा पुग्ने आशामा मैदान उत्रिएको चितवनका व्याटरहरू सुरुवातदेखि नै लयमा आउन सकेनन्। रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रन बनाए। बाँकी ब्याटर दोहोरो अंकमा पुग्न असफल रहे।

सुदूरपश्चिमका पुनित मेहराले तीन विकेट लिए। दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले समान एक–एक विकेट हात पारे । चितवनका तीन खेलाडी रनआउट हुँदै पवेलियन फर्किए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाउँदै १६९ रन बनायो। ओपनर क्रिस लिनले शानदार अर्धशतक प्रहार गर्दै ५६ बलमा ७५ रन जोडे। उनले तीन छक्का र पाँच चौका प्रहार गरे। बिनोद भण्डारीले २१ रन जोड्दा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४ रनको योगदान दिए।

चितवनका सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक–एक विकेट लिए।

ताजा समाचार

सम्बन्धित समाचार