कञ्चनपुर ।
नेकपा एमालेको पदाधिकारी चयनलाई लिएर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष र अध्यक्ष केपी शर्मा ओली पक्षले आ–आफ्नो उम्मेदवारको सूची सार्वजनिक गरेका छन्। दुवै पक्षले केही पद खाली राख्दै अधिकांश पदाधिकारीका नाम टुंगो लगाएका हुन्। पोखरेल पक्षले अध्यक्षमा ईश्वर पोखरेललाई अघि सारेको छ। उपाध्यक्षमा पर्शुमेघी गुरुङ, बिन्दा पाण्डे, अरुण नेपाल र गोकर्ण विष्टलाई उम्मेदवार बनाइएको छ भने एक पद खाली राखिएको छ। महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई तथा वैजनाथ चौधरीको नाम तय गरिएको छ। सचिवमा इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, विनोद ढकाल, पुरुषोत्तम पौडेल, रचना खड्का र डा. कृष्ण केसी रहेका छन्। यता अध्यक्ष ओली पक्षले पनि पदाधिकारीको नयाँ टिम सार्वजनिक गरेको छ। अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई उम्मेदवार बनाइएको छ। महासचिवमा शंकर पोखरेल चयन भएका छन्। उपमहासचिवमा विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठ रहनेछन्। भट्टलाई उपमहासचिव बनाउने सहमति भएपछि यसअघि उपमहासचिवका उम्मेदवार भानुभक्त ढकाललाई सचिवमा समावेश गरिएको छ। सचिवमा पद्मा अर्याल, भानुभक्त ढकाल, छविलाल विश्वकर्मा, शेरधन राई, हिम्मत कार्की, डा. राजन भट्टराई, खगराज अधिकारी, यामलाल कँडेल र महेश बस्नेत रहेका छन्। पदाधिकारी चयनलाई लिएर दुवै पक्षबीच आन्तरिक छलफल तीव्र बनेको छ भने अन्तिम सूची महाधिवेशन प्रक्रियाबाट टुंगिने एमाले नेताहरूले बताएका छन्।
