आज एमालेको नेतृत्व छानिँदै, भृकुटीमण्डपमा विद्युतीय मतदान

प्रकाशित:

कञ्चनपुर  – नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र स्थल भृकुटीमण्डपमा मंगलबार दिउँसो १ बजेदेखि मतदान सुरु भई साँझ ७ बजेसम्म चल्नेछ।

महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार दुवै नेताले प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका हुन्।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ। एक जना प्रतिनिधिले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा कुल दुई हजार २६३ प्रतिनिधि सहभागी छन्।

आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदमा प्यानल तथा स्वतन्त्र दुवै रूपमा उम्मेदवारी परेको छ।

संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाले उम्मेदवारी दिएका छन्। एक महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिस्पर्धामा छन्।

यस्तै, तीन उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन्। नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ भने विभिन्न भूगोल र क्षेत्रबाट केन्द्रीय सदस्य पदमा एक हजारभन्दा बढी आकांक्षी चुनावी प्रतिस्पर्धामा छन्।

ताजा समाचार

सम्बन्धित समाचार