सुदूरपश्चिमबाट लेखराज भट्ट एक्ला एमाले पदाधिकारी, ओलीको नेतृत्वमा पार्टी पुनः सुदृढ

प्रकाशित:

कञ्चनपुर – नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै लेखराज भट्ट एक्ला पदाधिकारीका रूपमा निर्वाचित भएका छन्। पूर्व माओवादी कमाण्डरसमेत रहेका भट्ट माओवादी केन्द्रमा रहँदा सर्वोच्च पदमा पुगेका थिए भने एमालेमा आएपछि पनि पार्टीको तेस्रो वरियताको पद उपमहासचिवमा पुग्न सफल भएका हुन्।
महाधिवेशनले एमालेको नेतृत्व पुनः केपी शर्मा ओलीकै काँधमा सुम्पिएको छ। अध्यक्ष पदमा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई १३९९ मतको फराकिलो अन्तरले पराजित गर्दै पुनः अध्यक्षमा विजय हासिल गरेका हुन्। ओलीले १६६३ मत ल्याउँदा पोखरेलले ५६४ मतमा सीमित भए।
यसअघि एमालेमा नेतृत्वका लागि २ वर्षे कार्यकाल र ७० वर्षे उमेर हदको व्यवस्था थियो। तर गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट उक्त प्रावधान हटाइएपछि ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा पुगेका हुन्। बरिष्ठ उपाध्यक्ष पद खारेज भएसँगै पराजित पोखरेलको भावी भूमिकाबारे पार्टीभित्र अन्योल देखिएको छ।
ओली प्यानलबाट विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रामबहादुर थापा र रघुजी पन्त उपाध्यक्षमा निर्वाचित भएका छन्। उपमहासचिवमा लेखराज भट्ट र रघुप्रसाद महासेठ विजयी भए।
सचिवमा महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा अर्याल, शेरधन राई, हिम्मत कार्की, यमलाल खडेल, खगराज अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराई निर्वाचित भएका छन्।
पोखरेल प्यानलबाट भने गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा निर्वाचित भएका छन्। सुदूरपश्चिमबाट ओली प्यानलमै रहेका तत्कालीन सचिव लेखराज भट्टले बाजी मार्दै उपमहासचिवमा स्थान बनाएका हुन्। सचिवमा कर्ण थापा पराजित भएपछि सुदूरपश्चिमबाट भट्ट एक्ला पदाधिकारी बनेका छन्।
यसैबीच कञ्चनपुरबाट कृपाराम राना, निरुदेवी पाल र कमला बोहरा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनीहरूको निर्वाचनसँगै जिल्लामा खुसीयाली छाएको छ भने पार्टी पंक्ति र शुभेच्छुकबाट निर्वाचित सबैलाई बधाईको ओइरो लागेको छ।

ताजा समाचार

सम्बन्धित समाचार