काठमाडौं। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीभित्र गुटबन्दी अन्त्य भइसकेको दाबी गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई साझा र समग्र नेतृत्वका रूपमा स्वीकार गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटीद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै भट्टले पार्टी अब गुट–उपगुटभन्दा माथि उठेर एकीकृत रूपमा अघि बढिसकेको बताए।

“अब यो र त्यो गुट छैन, सिङ्गो एमाले मात्रै छ,” उनले भने, “अध्यक्ष केपी शर्मा ओलीलाई साझा र समग्र नेतृत्वका रूपमा बुझ्नुपर्छ र साथ दिनुपर्छ।”
पार्टीका आन्तरिक समस्या र असन्तुष्टि सामाजिक सञ्जालमा पोख्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै भट्टले यस्ता विषय पार्टी कमिटीभित्रै छलफल र विधिबाट समाधान गर्नुपर्नेमा जोड दिए।
“फेसबुकको हल्लाले होइन, सल्लाह र विधिले पार्टी चल्नुपर्छ,” उनले स्पष्ट पारे।
देशी तथा विदेशी शक्तिहरूबाट पार्टीमाथि घेराबन्दी भइरहेको दाबी गर्दै उनले संकटको घडीमा सबै नेता–कार्यकर्ता एकताबद्ध भएर नेतृत्वको पक्षमा उभिनुपर्ने बताए।
कार्यक्रममा भट्टले वर्तमान सरकारलाई प्रतिक्रियावादीको संज्ञा दिँदै संविधानको मर्म र भावना अनुसार नचलेको आरोप पनि लगाए।
“संविधान र व्यवस्थाको रक्षा गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,” उनले जोड दिए।
उनको भनाइले एमालेभित्र एकता सुदृढ गर्दै आगामी राजनीतिक संघर्षका लागि पार्टीलाई थप संगठित बनाउने सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया थियो।
