जोगबुढा नदीमा फसेको बाघको बच्चा उद्धार नहुँदा मृत्यु, निकुञ्ज र वन कार्यालयबीच आरोप–प्रत्यारोप

प्रकाशित:

कञ्चनपुर:
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जगबुढा नदीको हिलो र पानीमा फसेको बाघको बच्चाको समयमै उद्धार नहुँदा मृत्यु भएको छ।
स्थानीयका अनुसार बुधबार बिहान बाघको बच्चा बघिनी आमासँगै उक्त क्षेत्रमा देखिएपछि प्रहरी, वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरिएको थियो। निकुञ्जको टोली उद्धारका लागि पुगे पनि बघिनीले गाउँमा आतंक मच्चाउन सक्ने भन्दै बच्चालाई त्यहीँ छाडेर फर्किएको आरोप लागेको छ। बिहान जिउँदै देखिएको बाघको बच्चा साँझ मृत अवस्थामा फेला परेको थियो।

स्थानीय र सरोकारवालाहरूले अत्यधिक चिसो, हिलो र पानीमा लामो समय फसेकाले बाघको बच्चाको मृत्यु भएको बताएका छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत सुरेन्द्रचन्द्र डिसीले निकुञ्जको गैरजिम्मेवारीका कारण घटना भएको दाबी गरेका छन्।

उनले भने, “उद्धार टोली बिहानै गएको थियो, तर उद्धार नगरी फर्कियो। यस्तो चिसो मौसममा हिलो र पानीमा फसेको बच्चालाई किन छाडियो भन्ने प्रश्न उठ्छ।” उनका अनुसार उद्धार गरेर बघिनी गएको दिशातर्फ जंगलमै छाड्न सकिन्थ्यो।
डिसीले यस विषयमा वन मन्त्रालय र संरक्षण फोरममा कुरा उठाउने चेतावनीसमेत दिएका छन्। “उद्धारमा जाने टिएडिए खाने तर वन्यजन्तु मर्न दिने काम राम्रो होइन,” उनले भने।
तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघको बच्चाको मृत्यु संयोगवश भएको दाबी गरेका छन्। उनका अनुसार अवस्था जटिल भएकाले तत्काल उद्धार गर्न कठिनाइ भएको थियो।

उल्लेखनीय छ, यसअघि शनिबार मात्रै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा बाघको आक्रमणबाट स्थानीय महिला सुना निरौलाको मृत्यु भएको थियो। पछिल्ला घटनाले मानव–वन्यजन्तु द्वन्द्व र उद्धार व्यवस्थापनप्रति गम्भीर प्रश्न खडा गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार