कञ्चनपुर
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख श्याम सिंह खड्काको सरुवा भएको छ । करिब एक वर्षसम्म केन्द्र प्रमुखको जिम्मेवारी सम्हालेका खड्का पशु विकास निर्देशक (उपसचिव) पदमा बढुवा भई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएका हुन् ।
खड्काको कार्यकालमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर वार्षिक कार्यप्रगतिको आधारमा सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट कार्यालयका रूपमा चिनिन सफल भएको थियो । इमानदार र बौद्धिक व्यक्तित्वका रूपमा परिचित खड्काले लगनशीलता र प्रतिबद्धताका साथ आफ्नो एक वर्षे कार्यकाल सफल बनाएका थिए ।उनले कृषकका समस्या सहज रूपमा समाधान गर्नेदेखि कञ्चनपुरमा गौशाला व्यवस्थापनलाई उद्योगको रूपमा विकास गर्ने पहल, भेटेरिनरी अध्ययन गरेका प्राविधिकलाई व्यवसायमा आकर्षित गर्ने कार्यक्रम तथा विपन्न वर्ग लक्षित योजनाहरू सञ्चालन गरेका थिए ।

यसै वर्ष समाजशास्त्र विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा दीक्षित भएका खड्का केही महिना अघि मात्र उपसचिव पदमा बढुवा भएका थिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कर्मचारी अभाव रहनुका साथै खड्कालाई दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकको दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले उनलाई मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।
