नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट फागुनमा हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभाका उम्मेदवार बन्ने भएका छन्।
क्षेत्र नम्बर–४ को समन्वय कमिटीको चौधौँ बैठकले भट्टलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने निर्णय गरेको एमाले कैलालीका उपाध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए। उनका अनुसार उम्मेदवारका रूपमा भट्टको एकल नाम सिफारिस गरिएको छ।
भट्ट अहिलेसम्म यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दै आएका छन्। २०६४ सालपछि हालसम्म चार पटक निर्वाचन लडेका भट्टले दुई पटक जित र दुई पटक हार बेहोरेका छन्। उनी यसअघि र हाल एमालेका प्रदेशका एक मात्र पदाधिकारी पनि हुन्।उहाँजस्तो व्यक्तिले निर्वाचन लड्ने भएपछि यहाँका नेता–कार्यकर्ता उत्साहित भएका छन्। विकास र समृद्धिका लागि उहाँको उम्मेदवारी आवश्यक छ,’ उपाध्यक्ष शाहीले भने, ‘यसअघि कांग्रेस–माओवादीसहितको गठबन्धन हुँदा पनि उहाँ थोरै मतले पराजित हुनुभएको हो। अहिले उहाँले जित्नुहुन्छ भन्ने विश्वास छ।’अघिल्लो पटक भट्ट पराजित भएपछि यस क्षेत्रको विकास प्रभावित भएको शाहीको भनाइ छ। ‘म पनि यही निर्वाचन क्षेत्रको हुँ। अघिल्लो पटक निर्वाचित नेताले जनअपेक्षाअनुसार काम गर्न सक्नुभएन,’ उनले भने, ‘अहिले फेरि मतदाताले एमालेलाई नै खोजेका छन्।’