महेन्द्रनगरबाट बेपत्ता १२ वर्षीय रमित लुहार धनगढीमा सकुशल फेला ।

प्रकाशित:

कन्चन्पुर
महेन्द्रनगरमा बसेर अध्ययन गर्दै आएका बाजुराका १२ वर्षीय रमित लुहार एक सातादेखि बेपत्ता भएको विषयमा सौगात न्युजले दुई दिनअघि (मंसिर २४ गते) समाचार प्रकाशित गरेको थियो। उक्त समाचार प्रकाशित भएको दुई दिनपछि रमित सकुशल फेला परेको जानकारी प्राप्त भएको छ।


रमित धनगढीस्थित निसर्ग अस्पतालको छेउमा रहेको होटल ‘लक्की’ मा फेला परेको उनका परिवारले जानकारी दिएका छन्। रमितकी आमा बुदीदेवी लुहार र उनका दाजु मनोज लुहार ले सौगात न्युजसँग कुरा गर्दै रमित सुरक्षित अवस्थामा फेला परेको बताएका हुन्।
छोराको खोजीमा आमा बुदीदेवी लुहार महेन्द्रनगरका गल्ली–गल्ली भौतारिँदै पत्रकारहरूसँग भेटघाट गरी सहयोगको आग्रह गर्दै आएकी थिइन्। साथै रमितका दाजु मनोज लुहारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा खोजीका लागि निवेदनसमेत दिएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख खडक खत्री ले रमितको खोजी तलासी कार्य भइरहेको र आवश्यक समन्वयका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसँग पनि पहल गरिएको जानकारी दिएका थिए।
लामो खोजीपछि रमित सकुशल फेला परेपछि परिवारले राहत महसुस गरेको बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार