कञ्चनपुर चैत्र २१
कञ्चनपुरको बेलडाँडी गाउँपालिका की उपाध्यक्ष शान्ती नाथलाई प्रहरीले हिरासतबाट रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धानका क्रममा हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि बुधबार उनलाई रिहा गरिएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार घटनासम्बन्धी अनुसन्धान जारी रहे पनि हाल उपलब्ध प्रमाण र बयानका आधारमा नाथलाई निरन्तर हिरासतमा राख्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालिएको हो ।
गत वैशाख ३ गते हरिकिसन रानाको हत्या गरिएको आरोपमा उनकी श्रीमती फिर्या रानाले उपाध्यक्ष नाथविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् । त्यसपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नाथ पक्राउ परेकी थिइन् ।
हरिकिसन राना विसं २०८२ वैशाख ९ गते बिहान बेलौरी नगरपालिका–१० शिवनगर स्थित निर्मल शारदा आर्यघाट नजिक मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए । घटनापछि प्रहरीले विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गरे पनि घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन ।
जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका प्रमुख प्रकाश भण्डारीले अनुसन्धानका क्रममा संकलित कागजात, प्रमाण तथा बयानका आधारमा नाथलाई तत्काल दोषी देखिने अवस्था नरहेको बताए ।
उनले भने, “घटनामाथि लामो समय अनुसन्धान गरिएको थियो । मिसिल संलग्न प्रमाण र बयानबाट तत्काल दोषी पुष्टि हुने आधार नदेखिएकाले हिरासतमा राखिराख्नु आवश्यक ठानिएन ।”
प्रहरीले भने हरिकिसन रानाको मृत्यु प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरी उपरीक्षक खत्रीका अनुसार नाथलाई हिरासत बाहिर राखेर पनि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ
