कञ्चनपुर वैशाख ८ गते—
कञ्चनपुर जिल्लामा हरेक वर्ष दोहोरिने बाढी र नदी कटान

समस्याको दीर्घकालीन समाधान खोज्न प्रतिनिधिसभाका
सांसद ज्ञानेन्द्र महताले सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कञ्चनपुर–३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद महताले पछिल्ला २७ दिन आफू निर्वाचन क्षेत्रमा पुगेर स्थानीय नागरिकका गुनासा सुनेको जानकारी दिएका थिए।
उनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरू वर्षेनी बाढी, डुबान र कटानको उच्च जोखिममा जीवन बिताउन बाध्य भएको बताए।

उनले संसदमा भने,
“हरेक वर्ष वर्षायाममा नदी तथा खोलाहरू उर्लिएपछि दर्जनौँ बस्ती डुबानमा पर्छन्। खेतीयोग्य जमिन कटान हुन्छ, सडक तथा सार्वजनिक संरचनामा क्षति पुग्छ। स्थानीय नागरिक विस्थापनको जोखिममा छन्।”
महताले स्थानीय तह र सरोकारवाला निकायले पूर्वतयारीका काम गरिरहेको भए पनि दीर्घकालीन नियन्त्रणका लागि संघीय सरकारको पर्याप्त पहल हुन नसकेको गुनासो गरे।
उनले तटबन्ध निर्माण, नदी नियन्त्रण, वैज्ञानिक अध्ययन तथा विपद् व्यवस्थापन योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै कञ्चनपुरका नागरिकलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन्।

