गोदामभरि मल, खेतमा अभाव” — कञ्चनपुरका किसान रोपाइँको मुखमै संकटमा, सरकारी ढिलासुस्तीले बढ्यो आक्रोश

प्रकाशित:

कञ्चनपुर जेठ ५ गते
कञ्चनपुरमा धानको बेर्ना छर्ने मुख्य सिजन सुरु भएसँगै

 किसानहरू रासायनिक मलको चरम अभाव झेल्नबाध्य भएका छन्।सरकारी गोदाममा हजारौँ मेट्रिक टन मल मौज्दात हुँदाहुँदै पनि वितरण प्रक्रिया सुस्त हुँदा किसान खाली हात फर्किनुपरेको भन्दै व्यापक गुनासो बढेको हो।

भीमदत्त नगरपालिका–१३ स्थित सप्तरी कृषि सहकारीका अध्यक्ष डम्मरी सिंह ठगुन्नाले सरकारी लापरवाहीकै कारण किसान समस्यामा परेको आरोप लगाए। “गोदाममा मल थुप्रिएको छ, तर किसानले समयमा पाउन सकेका छैनन्,” उनले आक्रोश व्यक्त गरे। उनका अनुसार वितरण व्यवस्थापन कमजोर हुँदा किसानको मेहनत र समय दुवै खेर गइरहेको छ।
स्थानीय किसानहरूका अनुसार समयमै मल नपाउँदा धान उत्पादनमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको छ। उत्पादन घट्ने चिन्तासँगै खेती लागतसमेत आकासिएको उनीहरूको गुनासो छ। केही किसान निजी बजारबाट चर्को मूल्य तिरेर मल किन्न बाध्य भएका छन्।

स्थानीय किसान भीम चन्दले भने, “सरकारी मल पाइँदैन, निजी पसलमा महँगो छ। खेती जोगाउन बाध्य भएर महँगोमा किन्नुपरेको छ।”
यता कृषि सामग्री कम्पनी कञ्चनपुर शाखाका प्रमुख हेमराज जोशीले भने कञ्चनपुरका ९ वटा स्थानीय तह मध्ये लालझाडी गाउँपालिका पुनर्वास नगरपालिका बेलौरी नगरपालिकाले कैलाली क्षेत्रीय कार्यालय बाट मलखाद उठाउने गरेको बताए बाँकी रहेका छवटा स्थानीय तहले जिल्लाबाटै मलखाद लिने गरेको छन्। उहाँले भन्नुभयो जिल्लाका करिब १५० सहकारीलाई खेतीयोग्य जमिनका आधारमा मलको कोटा छुट्याइएको जानकारी दिए। उनका अनुसार कतिपय सहकारीले समयमै मल नउठाउने, पर्याप्त गोदाम नहुने तथा कोटा अर्को सहकारीलाई हस्तान्तरण गर्न स्वीकृति आवश्यक पर्ने कारणले मौज्दात मल वितरण हुन नसकेको हो।

तर किसानहरूले भने प्रशासनिक प्रक्रिया र ढिलासुस्तीको मार आफूहरूले भोग्नुपरेको भन्दै तत्काल सहज, पारदर्शी र प्रभावकारी वितरण व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। धान रोपाइँको संवेदनशील समयमा मल अभाव चुलिँदा कञ्चनपुरका किसानहरू चिन्तित बनेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार