कञ्चनपुर साउन २ गते
महेन्द्रनगर। महाकाली नदीको भंगालोमा फसेका काभ्रेका उमेश चौलागाईंको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
दोधारा–चाँदनी घुम्न गएका ५२ वर्षीय चौलागाईं शनिबार बिहान महाकाली नदी पौडी खेलेर तर्ने प्रयास गर्ने क्रममा नदीको भंगालोमा फसेका थिए।
उनी भंगालोमा फसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल, देविस्थान गुल्मबाट निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर महराको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको थियो।
निमित्त गुल्मपति महराका अनुसार उद्धार टोलीले रबरबोटको प्रयोग गरी भंगालोसम्म पुगेर चौलागाईंको सकुशल उद्धार गरेको हो।
चौलागाईं घुम्नका लागि दोधारा–चाँदनी पुगेका थिए। काठमाडौंमा तरकारी व्यवसाय गर्दै आएका उनले काभ्रेका नदीहरूमा पौडी खेलेर तर्ने अनुभव भएकाले महाकाली नदी पनि पौडी खेलेर तर्न खोजेको बताएका छन्।
पौडी खेल्ने क्रममा उनले पहिलो भंगालो पार गरेका थिए। तर दोस्रो भंगालोमा पुगेपछि तीव्र बहावका कारण अघि बढ्न नसकी बीचमै रोकिएका थिए। त्यसपछि सशस्त्र प्रहरीको टोलीले सुरक्षित रूपमा उनको उद्धार गरेको हो।
महाकाली नदीको भंगालोमा फसेका काभ्रेका चौलागाईंको उद्धार
प्रकाशित:

