कञ्चनपुर, साउन १४ गते
निकेश साउद
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सहजीकरणमा जिल्लामा देखिएको रासायनिक मल अभाव तथा किसानलाई सहज, पारदर्शी र प्रभावकारी रूपमा मल उपलब्ध गराउने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। 
छलफलमा कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्र सिंह महता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला कञ्चनपुरका नौवटै स्थानीय तहका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुख, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुखहरू, साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।
बैठकमा हाल जिल्लामा रहेको मल आपूर्तिको अवस्था, वितरण प्रक्रियामा देखिएका चुनौती, माग र आपूर्तिबीचको अन्तर, किसानको पहुँच सुनिश्चित गर्ने उपाय तथा समन्वयात्मक ढङ्गले मल वितरणलाई थप व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। 
छलफलका क्रममा किसानलाई अनावश्यक सास्ती नहुने गरी सहज, व्यवस्थित, पारदर्शी र समयमै रासायनिक मल उपलब्ध गराउन सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। 
बैठकले कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण तथा किसानको हितलाई केन्द्रमा राख्दै जिल्लाका सबै सरोकारवाला निकाय एकजुट भएर कार्य गर्ने विश्वाससमेत व्यक्त गरेको छ।

