हारको समीक्षा गर्दै कञ्चनपुरमा एमालेको ‘मिसन पार्टी जागरण–२०८३’ अभियान, संगठन पुनर्जीवनमा जोड

प्रकाशित:

कञ्चनपुर, असार १६ —

प्रतिनिधिसभा सदस्य निर्वाचनको पराजयको समीक्षा गर्दै नेकपा (एमाले) कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहका सबै वडामा ‘मिसन पार्टी जागरण–२०८३’ अभियान सञ्चालन गरेको छ।

अभियानमार्फत संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा युवामुखी नेतृत्व विकासलाई प्राथमिकता दिइएको पार्टीले जनाएको छ।

एमालेका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज कृपाराम रानाका अनुसार अभियानको पहिलो चरणमा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र निष्क्रिय संगठनलाई पुनः सक्रिय बनाउने काम भइरहेको छ। वडास्तरमा केन्द्रीय नेताहरूको सहभागितामा छलफल, अन्तरक्रिया, संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार विगतका कमजोरीको समीक्षा गर्दै जनतासँगको सम्बन्ध सुदृढ बनाउने, युवालाई नेतृत्वमा अवसर दिने तथा संगठनलाई नयाँ ढङ्गले अघि बढाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको हो।हालसम्म कृष्णपुर, पुनर्वास, दोधारा चाँदनी, भीमदत्त, बेदकोट नगरपालिका तथा बेलडाँडी र लालझाँडी गाउँपालिकामा अभियानअन्तर्गत कार्यकर्तासँग छलफल सम्पन्न भएको छ। परम्परागत कार्यशैलीका कारण जनतासँगको सम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै संगठनलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जनाइएको छ।

अभियानअन्तर्गत असार मसान्तभित्र सदस्यता नवीकरण तथा विस्तार सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साथै, सबै सदस्यको विवरण अनलाइन प्रणालीमार्फत अद्यावधिक गरी पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
‘६ ज’ नीतिमा अभियान केन्द्रित
जिल्ला इन्चार्ज रानाका अनुसार पार्टीभित्र देखिएका चुनौती, निराशा र जनतासँगको दूरी कम गर्न ‘६ ज’ नीतिलाई अभियानको आधार बनाइएको छ। यसअन्तर्गत ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा प्रतिस्पर्धी तथा सक्षम नेतृत्व तयार गरौँ’ भन्ने अवधारणालाई कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो।
उहाँका अनुसार अभियानले नेताहरूलाई जनताका कुरा सुन्ने, विगतका कमजोरी सुधार गर्ने, आवश्यकताअनुसार मात्र सार्वजनिक अभिव्यक्ति दिने तथा युवाकेन्द्रित संगठन निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गरेको छ। यसबाट पार्टीमा युवाको सहभागिता र नेतृत्व विकासमा सकारात्मक प्रभाव परेको दाबी गरिएको छ।
पालिकामा केन्द्रीय नेताको जिम्मेवारी
एमालेले अभियान प्रभावकारी बनाउन जिल्लाका नौवटै पालिकामा केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएको छ। भीमदत्त नगरपालिकामा ईश्वरी खरेल, दोधारा चाँदनीमा डा. दीपक प्रकाश भट्ट, बेदकोटमा कृपाराम राना, शुक्लाफाँटामा बच्चनबहादुर सिंह, कृष्णपुरमा गोविन्द कलौनी, बेलौरीमा कमला बोहरा, पुनर्वासमा तारालामा तामाङ, बेलडाँडीमा नरबहादुर धामी र लालझाँडीमा इन्दु कडरियाले अभियानको सहजीकरण गरिरहनुभएको छ।
एमाले कञ्चनपुरका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जनकराज अवस्थीले अभियानमार्फत पार्टीलाई पुनः सुदृढ बनाउँदै आगामी दिनमा निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो। अभियानलाई जिल्ला तथा प्रदेश कमिटीले समेत आवश्यक समन्वय र सहयोग गरिरहेको उहाँको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार