निकेश साउद
कञ्चनपुर, असार २४
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कञ्चनपुर जिल्ला आधिकारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। यससँगै जिल्लाका १५ महिनामुनिका सबै बालबालिकालाई नियमित खोप सेवाको पहुँच सुनिश्चित गर्ने अभियानले महत्वपूर्ण सफलता हासिल गरेको छ।


उनले भने, “आज हामीले पूर्णखोप जिल्ला घोषणा गरेका छौं। अबको मुख्य दायित्व यो उपलब्धिलाई दिगो बनाउनु हो। जिल्लामा जन्मिने १५ महिनामुनिका कुनै पनि बालबालिका नियमित खोपबाट वञ्चित हुन नदिन स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, सञ्चारकर्मी, विकास साझेदार र अभिभावकबीचको समन्वयलाई अझ प्रभावकारी बनाइनेछ।”
अध्यक्ष बोहराले यो सफलता स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तह, जनप्रतिनिधि, सञ्चारकर्मी, विकास साझेदार तथा अभिभावकहरूको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा नियमित अनुगमन, अभिलेख व्यवस्थापन, छुटेका बालबालिकाको पहिचान तथा समयमै खोप सुनिश्चित गर्न विशेष अभियान सञ्चालन गरिने जानकारी पनि दिए।
स्वास्थ्यकर्मीहरूले पूर्णखोप घोषणा अन्तिम लक्ष्य नभई नियमित खोप सेवाको दिगोपना कायम राख्ने नयाँ चरणको सुरुआत भएको उल्लेख गर्दै सबै अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको समयमै स्वास्थ्य संस्थामा लगेर नियमित खोप लगाउन आग्रह गरे।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणासँगै कञ्चनपुरले बालस्वास्थ्य संरक्षण, रोग नियन्त्रण तथा स्वस्थ समाज निर्माणतर्फ अर्को महत्वपूर्ण फड्को मारेको छ। जिल्लाको यो उपलब्धिले स्वास्थ्य सेवाको गुणस्तर थप सुदृढ बनाउनुका साथै अन्य जिल्लाका लागि पनि अनुकरणीय उदाहरण बन्ने विश्वास व्यक्त गरिएको छ।

