कञ्चनपुर असार ३२ गते
कञ्चनपुर, महेन्द्रनगर। आफ्नो वैवाहिक वर्षगाँठलाई सामाजिक सेवासँग जोड्दै कञ्चनपुरको भीमदत्त नगरपालिका–४, महेन्द्रनगर निवासी पत्रकार धनसिंह धामी र उनकी पत्नी सावित्री धामीले विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

पत्रकार धामीले विगत लामो समयदेखि कृषि क्षेत्रमा आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै नर्सरीमा विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएका छन्। यस वर्ष विभिन्न कारणले बिरुवा उत्पादन गर्न नसकेपछि त्यसको विकल्पस्वरूप विद्यार्थीहरूको शैक्षिक सहयोग गर्ने निर्णय गरिएको उनले बताए।
उनका अनुसार हरेक वर्ष वैवाहिक वर्षगाँठमा यस्ता सामाजिक कार्य गर्दै आउनुको उद्देश्य आफ्ना सन्तानलाई पनि समाजप्रति उत्तरदायी, सहयोगी र नैतिक जिम्मेवारीबोध भएको नागरिकका रूपमा प्रेरित गर्नु हो। “परिवारको खुसीलाई समाजसँग बाँड्न पाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ,” धामीले बताए।
शैक्षिक सामग्री प्राप्त गरेका विद्यार्थी तथा उनीहरूका अभिभावकले धामी दम्पत्तीको सामाजिक कार्यको प्रशंसा गर्दै वैवाहिक जीवनको शुभकामना व्यक्त गरेका थिए। स्थानीयवासीले पनि यस्ता प्रेरणादायी अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

