कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नवगठित व्यवस्थापन समितिको पहिलो परिचयात्मक तथा अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ।
समितिका अध्यक्ष महेश पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा चिकित्सक, कर्मचारी, पत्रकार तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अध्यक्ष महेश पन्तले अस्पतालको समग्र सुधारलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहको गुणस्तर अभिवृद्धि र जनगुनासो न्यूनीकरणका लागि प्रतिबद्धता व्यक्त गरे।

उनले अस्पताललाई “जनताको विश्वासको केन्द्र”का रूपमा विकास गर्ने लक्ष्य लिएको बताउँदै सेवाग्राहीले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गरिने धारणा राखे।
उनका अनुसार सरसफाइ व्यवस्थापन सुदृढीकरण, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, कर्मचारीको मनोबल वृद्धि तथा आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा सुधार गरिनेछ। उनले सबै स्वास्थ्यकर्मी र कर्मचारीले जिम्मेवारीबोधका साथ काम गरेमा अस्पतालप्रति जनविश्वास अझ सुदृढ बन्ने विश्वास व्यक्त गरे 
कार्यक्रममा सहभागी पत्रकार तथा बौद्धिक व्यक्तित्वहरूले सेवाग्राहीमैत्री व्यवहार, पारदर्शिता, समयमै उपचार तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए। छलफलका क्रममा अस्पतालका चुनौती, जनगुनासोका कारण र समाधानका उपायहरूबारे पनि खुला रूपमा विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रमले नयाँ व्यवस्थापन समितिप्रति आशा र विश्वास व्यक्त गर्दै आगामी दिनमा महाकाली प्रादेशिक अस्पताललाई अझ व्यवस्थित, गुणस्तरीय र सेवामुखी संस्थाको रूपमा विकास गर्ने सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।